दोदा नदी गाउँ पस्यो : कञ्चनपुरका सयौं घर डुवानमा, सडक अवरुद्ध


११ भाद्र २०७८, शुक्रबार
doda river kanchanpur2021 08 27 12 33 24

कञ्चनपुर, ११ भदौं । तीन दिनदेखिको भारी वर्षाले कञ्चनपुरको जनजीवन कष्टप्रद बनाएको छ । अविरल रुपमा मुसलधारे वर्षा नभए पनि एक्कासी दोदा नदीमा बाढी आउँदा सर्वसाधरणलाई सास्ती भएको छ ।

चुरे भएर कञ्चनपुरका चार पालिका कृष्णपुर, लालझाडी, बेलौरी र पूनर्वास हुँदै भारतमा पुगेर महाकाली नदीमा मिसिने दोदा नदी गए रातिदेखि गाँउ पसेको छ । लालझाडी, बेलौरी र पूनर्वासका दर्जनौं बस्तीका सयौं घर डुवानमा परेका छन् । लालझाडी गाँउपालिकाका जाई, पर्सिया, ढुङ्गा, नन्दगाँउ, बल्मी, कसुवा, कञ्जलगायत गाउँका सयौँ घर डुवानमा परेका छन् ।

लालझाडी गाँउपालिका अध्यक्ष मदन सेन बडायकका अनुसार गाउँपालिकाको १ देखि ६ नम्बर वडाका हजारौं घर डुवानमा परेका छन् । केही स्थानीयका घरपालुवा जनावर र अन्य भौतिक सम्पती समेत बाढीले बगाएको छ । बेलौरी नगरपालिका–५ रामनगर क्षेत्रका घरहरु समेत डुवानमा परेका छन् ।

पूनर्वास नगरपालिकाको २ र ५ नम्बर वडाका झण्डै डेढ सय घर डुवानमा परेका छन् । नगरपालिका भएर धनगढी जोड्ने हुलाकी सडक समेत अवरुद्ध भएको छ । ‘सिङ्गै नदी गाँउ पसेपछि पूनर्वास–धनगढी सडकसमेत अवरोध भएको छ,’ लालझाडीका स्थानीय युवा अमर सिंह रानाले भने, ‘एक्कासी नदीमा पानीको बहाव बढेसंगै वितण्डा मच्चिएको छ ।’

पहाडमा भारी वर्षा भएका कारण वा अन्य नदीहरु दोदामा मिसिएका कारण बाढी आएको अनुमान गरिएको छ । नदी गाँउ पसेपनि अहिलेसम्म कुनै मानवीय क्षति भने भएको छैन । मानिसहरुको उद्दारका लागि स्थानीय प्रहरी, सशस्त्र प्रहरी र रेडक्रसकर्मी खटिएका छन् । डुवान क्षेत्रमा परेका नागरिकको उद्दार कार्य जारी रहेको कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७