धानमा टपड्रेसिङ गर्ने समयमा नै युरिया मलको चरम अभाव


१४ भाद्र २०७८, सोमबार
mal

काठमाडौं, १४ भदौं । किसानले असारमा रोपेको धानमा टपड्रेसिङ गर्ने समयमा नै युरिया मलको अभाव चुलिएको छ । मलको अभावका कारण यतिबेला अधिकांश जिल्लाका किसानहरूले धानमा टपड्रेसिङ गर्न मल पाएका छैनन् । सरकारले मलको अभाव नहुने दाबी गरिरहेकै बेला युरिया मलको अभाव चुलिएको हो ।

अहिले धानमा टपड्रेसिङ गर्न र गहुँँको सिजनका लागि करीब १ लाख १५ हजार मेट्रिक टनभन्दा बढी युरिया मल आवश्यक पर्छ । तर, सरकारसँग यतिबेला ७ हजार मेट्रिक टन युरिया मात्रै मौज्दात रहेको छ । यसबाहेक ३ हजार ८ सय मेट्रिकटन डीएपी र ३२ सय मेट्रिक टन पोटास मौज्दात रहेको छ ।

महामारीको प्रभावका कारण यस वर्ष अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेकाले सरकारले छुट्ट्याएको बजेटले आवश्यक परिमाणमा मल खरीद गर्न नसकिएका कारण मलको अभाव चुलिएको साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले बताए । उनका अनुसार यसअघि प्रतिमेट्रिक टन ३ सय १७ डलर पर्ने युरिया मलको मूल्य बढेर अहिले ४ सय ५५ डलर पुगेको छ भने ४ सय २० डलर पर्ने डीएपी मलको मूल्य पनि बढेर ६ सय ५० डलर कायम भएको छ ।

मलको अभाव चुलिएसँगै चितवन, मकवानपुर, बारा, पर्सा सुनसरी, मोरङ, बाँके बर्दियालगायत अधिकांश जिल्लाका किसानहरूले धानमा टपड्रेसिङ गर्न नपाएको बताएका छन् । सुनसरीका अगुवा किसान भुवनेश्वर यादवले जिल्लाका धेरैजसो किसानले युरिया र पोटास नपाएका कारण धानमा टपड्रेसिङ गर्न नपाएको गुनासो गरे ।

‘सहकारीमा मल छैन कहाँबाट टपड्रेसिङ गर्ने किसानलाई सधैं यस्तै समस्या छ,’ उनले भने । गतवर्ष पनि यही समयमा युरियाको अभाव भएपछि किसानले धानबालीमा मल हाल्न पाएका थिएनन् । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७