दार्चुलाको दुहुँमा बाढी : तीनको मृत्यु, दुई बेपत्ता


१५ भाद्र २०७८, मंगलवार
badi darchula2021 08 31 07 15 51

दार्चुला, १५ भदौं । दुई दिनदेखिको लगातार वर्षापछि आएको बाढी पहिरोमा परी दार्चुलाको दुहुँ गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । राति सुतिरहेको अवस्थामा खसेको पहिरोले घर पुरिँदा दुहुँ गाउँपालिका– १ बासपालिकाका नरसिंह महर र उनकी श्रीमती कौशाको मृत्यु भएको हो । त्यस्तै, दुहुँकै ५ नम्बर वडा दुल्लामा राति नै पहिरोसहितको बाढी घरमा पसेपछि मनुवा डडालको मृत्यु भएको छ ।

सुतिरहेका वेला पसेको बाढी पहिरोमा परी उनकी श्रीमती उजली घाइते भएको गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिए । उजली र सोही ठाउँका अर्का घाइते जनकराम कामीलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि धनगढी लगिएको छ ।
दुहुँ– ३ मा निजाङगाड खोलामा आएको बाढीले बगाउँदा स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएका छन् । वडाध्यक्ष लालबहादुर बमका अनुसार घट्ट गएका उनीहरूलाई खोलाले बगाएको हो ।

दुहुँ– १ को पिपलचौरीमा दुईवटा घर पहिरोले पूर्ण क्षतिग्रस्त भएको छ । २५ भन्दा बढी घर पहिरोको जोखिममा छन् । जोखिम बस्तीका नागरिकलाई सेनाको हेलिकोप्टरमार्फत ८० थान त्रिपाल ल्याएर वितरण गरिएको गाउँपालिका अध्यक्ष कार्कीले जानकारी दिए । उनका अनुसार दुहुँ– ३ को श्रीवगडमा निजाङगाड खोलाले पूर्णबहादुर बम, नरेन्द्रबहादुर बम, दीपक बम, रणबहादुर बम, धीरेन्द्र बम, शेरबहादुर बमको घर बगाएको छ ।

त्यस्तै, दुहुँ– ५ को सुत्खोला, सिमार, नसली, बत्थोलीलगायतका क्षेत्रका झण्डै एक सय घर बाढीपहिरोको उच्च जोखिममा छन् । खोला छेउछाउका अधिकांश बस्ती जोखिममा छन् । उनीहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । महाकाली नगरपालिका– १ को श्रीवगडमा देवबहादुर बम, अमरबहादुर बम, सुन्दरबहादुर बम र जितबहादुर बमको होटेल तथा पसल बगाएको छ ।

दुहुँमा सदरमुकाम खलंगासँगको सडक सम्पर्कविच्छेद भएको छ । सदरमुकाम खलंगा हुँदै दुहुँ गाउँपालिका र व्यास गाउँपालिका जोड्ने दार्चुला–तिंकर सडकखण्डमा पर्ने निजाङगाड खोलामा रहेको मोटरेबल पुल बगाएपछि सम्पर्कविच्छेद भएको हो । दुहुँका पाँच वटा झोलुंगे पुल पनि बगाएको छ ।

दुहुँकै तीन वटा लघुजलविद्युतमा क्षति पुगेको छ । वडा नम्बर २ को सिमार खोला १८ किलोवाट, वडा नम्बर ५ को कालागाड ३४ किलोवाट र कालागाड दोस्रो ४० किलोवाट जलविद्युत्मा क्षति पुगेको स्थानीय लोकेन्द्रबहादुर बमले जानकारी दिए ।

निजाङगाड खोलानजिकै रहेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको रेन्जपोस्ट भवनको आधा भाग बगाएको छ । महाकाली नगरपालिका– १ श्रीवगड क्षेत्रमा मात्र ११ वटा घर बाढीले ध्वस्त बनाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टले बताए । श्रीवगडमै रहेको राजेन्द्र निर्माण सेवाको एक्स्काभेटर, जेनेरेटर, मिक्स्चर भाइब्रेटरलगायतमा क्षति पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७