भरतपुर अस्पतालमा एक वर्षमै फेरि सात मेडिकल सुपरिटेण्डेण्ट


१५ भाद्र २०७८, मंगलवार
bharatpur 2

चितवन, १५ भदौं । भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सात जना मेडिकल सुपरिटेण्डेण्ट (मेसु) फेरिएका छन् । गत वर्षको भदौदेखि हालसम्म सात जना मेसु फेरिएका हुन् ।

एक वर्षको अवधिमा प्राडा कृष्ण पौडेल सातौं मेडिकल सुपरिटेण्डेण्ट हुने अवसर पाएका हुन् । हाल अस्पतालमा कार्यरत डा. रोशन न्यौपानेलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए । अधिकारी अध्यक्ष भएयताको सातौं मेसु पौडेल भएका हुन् ।

विसं २०७७ भदौ २८ गते डा. श्रीराम तिवारी सरुवालाई सरुवा गरेर डा. राजन पाण्डेलाई मेसु बनाइएको थियो । पाण्डे दुुई महिनापछि मंसिर ८ गते सरुवा भएसँगै डा. जगन्नाथ तिवारी मेसु भएका थिए । त्यसको तीन महिनापछि डा. वासुदेव पाण्डेलाई मेसु बनाइएको थियो । गत वैशाख ४ गते पाण्डे निवृत्त भएपछि पुनः डा जगन्नाथ तिवारीलाई मेसु बनाइएको थियो ।

झण्डै दुुई महिनापछि जेठ १३ गते डा रोशन न्यौपानेलाई मेसु बनाइएकोमा तीन महिनामा उनलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको हो । सरकारले आइतबार प्रा. डा. पौडेललाई भरतपुर अस्पतालको मेसुमा नियुक्त गरेको हो । मेसु अस्थिर हुँदा अस्पतालको गुणस्तर र सुविधा खस्किँदै गएको छ । अध्यक्ष अधिकारीले विकास समितिले गरेका निर्णय मेसु अस्थिर हुँदा कार्यान्वयन हुन नसकेको बताए ।

यसपटक मेसु भइसकेका स्थानीय व्यक्तिले जिम्मेवारी पाएकाले लामो समय काम गर्ने अवसर प्राप्त हुने र विकास समितिले गरेका निर्णय कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको अधिकारीको भनाइ छ ।

यो सङ्घीय अस्पताल हो । छ सय शैंयाको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामीले सेवा लिँदै आएका छन् । पटकपटक कार्यकारी प्रमुख परिवर्तन हुँदा अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ । हरेक विभागमा बिरामीले पाउनुपर्ने सेवा पाउन सकेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७