सभामुखविरुद्ध मुद्दाको पेशी संवैधानिक इजलासमा


१६ भाद्र २०७८, बुधबार
agniprasad sapkota 1536x864 1

काठमाडौं, १६ भदौं । सभामुख अग्नी सापकोटाविरुद्ध मुद्दाको पेशी संवैधानिक इजलासमा चढेको छ । माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै उनीविरुद्ध १० वर्षअघि मुद्दा परेको थियो ।

द्वन्द्वकालमा लामाको अपहरण पछि हत्या भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अध्यक्ष रहेको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सदस्य रहेका छन् ।

तत्कालीन एमालेका स्थानीय नेता अर्जुन लामाको हत्या प्रकरणमा मृतककी पत्नी पूर्णिमाया लामाले काभ्रे जिल्ला प्रशासनमा जाहेरी दिएकी थिइन् । २०६२ वैशाखमा माओवादीले अपहरण गरेको र सोही वर्षको असार दोस्रो साता हत्या गरिएको भन्दै सापकोटाविरुद्ध उजुरी दिएकी थिइन् । उक्त जाहेरीअनुसार काभ्रे प्रहरीले बयानका लागि सापकोटालाई बोलाएको थियो ।

त्यसपछि लामाको हत्यामा संलग्न रहेको भन्दै सापकोटालाई सभामुख नबनाउन माग गर्दै अदालतमा रिट दायर भएको थियो । वरिष्ठ अधिवक्ता तथा मानव अधिकारवादी दिनेश त्रिपाठीले सभामुखका लागि योग्य नभएको जिकिर छानबिनका लागि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सापकोटा सूचना तथा सञ्चारमन्त्री नियुक्त भएका थिए । सापकोटालाई मन्त्री बन्नबाट रोक्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेल, पत्रकार कनकमणि दीक्षितलगायत मानवअधिकारवादीले रिट जाहेर गरेका थिए । रिटमा प्याकुरेललगायत निवेदकले मन्त्री र भविष्यमा कुनै पनि पदमा नियुक्ति नगर्न माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७