होसियार ! अनलाइनबाट ठग्ने बढ्दै छन्


२० भाद्र २०७८, आईतवार
fraud 20210905001734

काठमाडौं, २० भदौं ।
घटना १ : ४० वर्षीया रीता हमाल ‘नाम परिवर्तन’ अहिले निकै तनावमा छिन् । एक जना भारतीय नागरिकलाई ‘अनलाइन’ मा विश्वास गरेबापत उनी ‘डिप्रेसन’ मा गइसकेकी छिन् । आफ्नो खाता प्रयोग गरेर अरू कसैले ९५ लाख रुपैयाँभन्दा बढी ‘ठगी’ कारोबार गरेपछि रीता मानसिक तनावमा परेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनको भारतमा बस्ने एक युवकसँग चिनजान भयो । उनले नेपाल र भारतमा चल्ने एटीएम आवश्यक परेकाले सहयोग गर्न महिलालाई आग्रह गरे । महिलाले पनि विश्वास गर्दै आफ्नो खाता नम्बर र एटीएम कुरियर गरेर भारतमा पठाइन् । युवकले महिलाको खाता र एटीएम प्रयोग गरेर विभिन्न मानिसहरूलाई ठगी गर्न थाले । महिलालाई समस्या तब आयो, जब खातामा पैसा पठाएका पीडितहरूले उनलाई खोजी गर्न थाले । पैसा माग्दै सम्पर्क गर्न थाले ।

बैंक खातामा अस्वाभाविक रूपमा कारोबार भइरहेको भन्दै प्रहरीले उनलाई सचेत गराएको थियो । उनको विरुद्ध प्रहरीमा उजुरी आउन थालेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार करिब ६÷७ महिनामा उनको खातामा ९५ लाख बराबरको रकम अनाधिकृत कारोबार भएको देखिन्छ ।

घटना २ : बागलुङ स्थायी घर भई भक्तपुरको सूर्यविनायकस्थित रोज भिलेज कोलोनीमा बस्ने २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसीलाई महाशाखाको टोलीले गत वर्ष साउन ९ गते बुटवलबाट पक्राउ ग¥यो । ती युवतीले सामाजिक सञ्जाल फेसबुक र टिकटकमार्फत युवाहरूसँग नजिक हुने र बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेकी थिइन् । उनीहरूले आफूहरू अमेरिकाको क्यालिफोर्निया बस्ने भन्दै युवाहरूसँग सम्बन्ध बढाउने गरेकी थिइन् । उनीहरूले युवाहरूबाट ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको अनुसन्धानबाट पुष्टि भएको छ ।
घटना ३ : आफूलाई नेदरल्याण्डको नागरिक बताउने एक व्यक्तिले फेसबुकबाट विभिन्न युवतीहरूलाई ठगी गरेका थिए । आफू नेपाल घुम्न आउने, विवाह गर्ने र बहुमूल्य सामानहरू आइफोन, सुनका गरगहना तथा डलरसमेत पठाइ दिने प्रलोभन देखाएर उनले ४१ लाखभन्दा बढी रकम ठगी गरे । उनले युवती तथा महिलालाई नेपालमा दीपक किशोर श्रेष्ठ र सन्तोष श्रेष्ठको नामको बैंक खातामा र आईएमई गरेर रकम जम्मा गर्न लगाउँथे । ठगिएका पीडितहरूले प्रहरीमा जाहेरी दिएपछि अनुसन्धानका क्रममा काठमाडौंको सुन्धाराबाट सन्तोष श्रेष्ठ र आशा श्रेष्ठ पक्राउ परे ।

जापानको अध्यागमन विभागमा काम गर्ने जापानी नागरिक भएको भन्दै फेसबुकमार्फत एक जनाले विभिन्न व्यक्तिबाट ३९ लाख बढी रकम ठगी गरेका थिए । उनले जापानमा कामदार भिसा दिलाइ दिने भन्दै पैसा जम्मा गर्न लगाउँथे । अपराध महाशाखाको टोलीले ठगी कार्यमा संलग्न शुभद्रा परियार, पूजा राई, राजेन्द्र ढकाल र दिपिका केसीलाई पक्राउ गर्‍यो ।

यी केही उदाहरण मात्रै हुन् । अनलाइन तथा सामाजिक सञ्जालमार्फत ठगी गर्नेहरूको संख्या बढ्दो छ । सामाजिक सञ्जालमा साथी बनाउने, फाइदा हुन्छ भनेर भ्रममा पार्ने र ‘इमोनसनल ब्ल्याकमेलिङ’ गर्ने कार्य तीव्र बढेको छ ।
अपराध महाशाखाका अनुसार आर्थिक वर्ष ०७७-७८ मा अनलाइन ठगी भयो भन्दै ८ करोडभन्दा बढी रकमका लागि उजुरी परेको छ । त्यसमध्ये ३ करोड ५ लाख २६ हजार ६ सय ८ रुपैयाँ ठगी गर्ने १० जना पुरुष र ३ जना महिला पक्राउ परेर मुद्दा चलाइएको छ । यी १३ जनाले ९ जना पुरुष र १७ जना महिलालाई ठगेको महाशाखाको तथ्यांकमा उल्लेख छ ।

बाँकी ५ करोड रकम कसले ठग्यो र को संलग्न छ भन्ने अनुसन्धानबाट खुल्न नसकेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला बताउँछन्। भारतमा बसेर अधिकांशले ठगी गर्ने गरेकाले पनि दोषी पत्ता लगाउन असहज हुने गरेको कोइरालाको भनाइ छ ।

‘तपाईंलाई चिठ्ठा परेको छ, त्यो रकम पठाउन भन्सार र एक्सचेन्ज चार्ज लाग्छ’ भन्दै ठग्ने क्रम पनि बढेको छ । महाशाखाका अनुसार धेरैजसो विदेशी व्यक्तिको नामको फेसबुक आईडीबाट ‘फ्रेन्ड रिक्वेस्ट’ पठाउने, साथी बन्ने, उपहार पठाइदिन्छु, म नेपाल आउँदै छु बिहे गरौंला भन्ने जस्ता कुरा गरेर अनेक उपहार पठाउन लागेको भन्दै त्यसको तस्बिर पठाएर प्रलोभनमा पारेर ठग्ने पनि धेरै भेटिएको छ ।

फेसबुक आईडी ह्याक गरेर चिनेजानेका मानिसलाई अप्ठ्यारो परेको छ भन्दै सहयोगका नाममा पैसा उठाएर ठगी गर्ने क्रम पनि उत्तिकै छ । महाशाखाका अनुसार पछिल्लो एक वर्षमा एक करोड ६७ लाख रकम यसरी ठगी भएको छ। यसबाट ७२ पुरुष र २९ महिला पीडित छन् । ई–सेवामार्फत रकम पठाउन लगाएर १८ पुरुष र ५ जना महिला ठगिएका छन् । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कोइराला अनेकौं उपायहरू लगाएर अनलाइनमार्फत ठगीका घटना बढेको बताउँछन् ।

सामाजिक सञ्जाललाई नियन्त्रण र नियमन गर्ने कानुन अहिलेसम्म बन्न सकेको छैन । सूचना प्रविधि विधेयक संसदमा विचाराधीन छ । सञ्चार मन्त्रालयका प्रवक्ता अनिलकुमार दत्तका अनुसार संसद्मा दर्ता भएको उक्त विधेयक पास भएपछि मात्रै सबै समस्या समाधान गर्न सकिने छ ।

‘हामीले विद्युतीय कारोबार ऐन २०६३ अनुसार नै अहिले अनुसन्धान र मुद्दा चलाइरहेका छौं, साइबर अपराध र सामाजिक सञ्जाललाई समेट्ने कानुन बनिसकेको छैन,’ महाशाखाका एसपी कोइराला भन्छन्, ‘पुरानै ऐनलाई टेकेर अनुसन्धान गर्न केही असहज हुन्छ नै ।’

नेपालमा दिनहुँ अनलाइन माध्यमबाट ठगी हुने क्रम बढे पनि त्यसका अनुसन्धान गर्ने पाटोमा केही समस्या देखिएको छ । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, ट्विटर, टिकटक लगायतका सामाजिक सञ्जालको आधिकारिक निकाय नेपालमा छैनन् । यो नहुँदा प्रहरीलाई अनुसन्धान गर्न जटिलता छ । साइबर ब्युरोका प्रवक्ता नवीन्द्र अर्यालका अनुसार साइबर क्राइम तथा अनलाइन ठगी बढ्नुमा लोभ लालच र छिटो पैसा कमाउने उद्देश्य देखिन्छ । यो रोक्नका लागि त प्रविधिको सदुपयोग गर्नका लागि जनचेतना फैलाउन आवश्यक छ

सह–न्यायाधिवक्ता सञ्जीवराज रेग्मी पनि सूचना प्रविधिसँग सम्बन्धित विषयलाई नियमन गर्न विस्तृत कानुन आवश्यक भएको बताउँछन् । ‘म्यासेज, इमेल लगायतबाट भएका ठगीलाई ठगीसम्बन्धी प्रचलित कानुनबमोजिम नै मुद्दा चलाइएको छ,’ उनले भने । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७