अझै उठेन काठमाडौंका नदी किनारको फोहोर


२० भाद्र २०७८, आईतवार
Fohor

काठमाडौं, २० भदौं । काठमाडौं उपत्यकाको फोहोर उठाउन थालिएको चार दिन भइसक्दा पनि बागमती लगायत नदी किनारको फोहोर भने उठ्न सकेको छैन ।

केही समयदेखि रोकिएको काठमाडौंको फोहोर गएको बुधबारदेखि उठाउन थालिएको हो । सडक क्षेत्रको फोहोर उठाए पनि घर घरबाट नदी किनारमा फालिएको फोहर भने अझै उस्तै छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा.माला खरेलका अनुसार अहिले काठमाडौँ उपत्यकाका रुद्रमती, विष्णुमती, मनोहरालगायत नदी किनारमा फोहोरको डंगुर छ ।

गत सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई छिटो राजधानीको फोहर उठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । प्रधानमन्त्री देउवाको निर्देशनपछि बुधबारदेखि महानगरले फोहोर उठाउन थालेको हो। केही ठाउँमा फोहर उठ्न थाले पनि उपत्यकाका धेरै चोक, नदी किनार र सडकमा अझै फोहोरका पहाड थुप्रा छन् ।

फोहरको थुप्राका कारण सडकमा दुर्गन्ध फैलिएको छ । मास्क लगाउँदा पनि दुर्गन्ध नथामिएपछि मानिस मास्कमाथि नाक थुनेर हिँड्न बाध्य छन् । मध्यबानेश्रमा थुप्रिएको फोहरअघि नाक थुनेर हिँडिरहेकी बिन्दु तिमल्सिनाले बाहिर निस्कँदा रोगको सङ्क्रमणमा परिने चिन्ता लागेको बताइन् ।

घरघरमा जम्मा भएको फोहर उठ्ने आशामा सडक, चोक र नदी किनारमा थुपार्नेक्रम बढे पनि धेरै फोहर उठ्न सकेको छैन। काठमाडौं महानगरपालिका र नगरपालिकाहरुले दीर्घकालीनरूपमा फोहर व्यवस्थापनको नीति बनाउन नसक्दा बेलाबेलामा फोहरका कारण राजधानी दुर्गन्धित बन्ने गरेको छ ।

राज्य पुनःसंरचनापछि बनेका स्थानीय तहलाई कानून निर्माण, कार्यान्वयनको अधिकार भए पनि अभ्यासमा उत्रन नसक्दा फोहर व्यवस्थापनमा पनि चुनौती देखिएको चाबहिलका स्थानीय द्रोण सापकोटाले बताए । फोहरलाई कम्पोष्ट मल बनाएर मोहरमा रुपान्तरण गर्न सकिने भए पनि स्थानीय सरकारको ध्यान यसतर्फ जान सकेको छैन । रचनात्मक काममा भन्दा स्थानीय सरकार सस्तो लोकप्रियता एवं अनावश्यक राजनीतिकरणमा अल्झिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७