पौडेल पक्षले देउवाको ध्यानाकर्षण गराउँदै


२२ भाद्र २०७८, मंगलवार
Congress Sher bahadur deuwa ramchandra paudel

काठमाडौं, २२ भदौं । विवाद नभएका जिल्लामा पनि वडा अधिवेशन रोकिएको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने भएको छ ।

स्रोतका अनुसार आज संसदीय दलको बैठक बस्नुअगाडि नै प्रधानमन्त्री समेत रहेका देउवालाई भेटेर पौडेल पक्षीय नेताहरूले ध्यानाकर्षण गराउन लागेका हुन् । ‘भेट्ने समय टुंगो लागिसकेको छैन, अहिले छलफल नै हुँदै छ । आजै भेटेर ध्यानाकर्षण गराउँदै छौं’, एक नेताले भने ।

सभापति देउवालाई ध्यानाकर्षण गराउन वरिष्ठ नेता पौडेलसहित, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत नेताहरु बालुवाटार जानेछन् । देउवालाई भेटेर यथाशीघ्र वडा अधिवेशन गराउन दबाब दिने तयारी पौडेल समूहको छ । कांग्रेसमा २१ जिल्लाको वडा अधिवेशन कहिले हुन्छ भन्ने अन्योल छ । क्रियाशील विवाद समाधान समितिले क्रियाशील सदस्यता नवीकरण र वितरणमा देखिएको समस्या समाधान गर्न नसक्दा वडा अधिवेशन हुन नसकेको हो ।

स्रोतका अनुसार भेटमा सरकार सञ्चालनको विषयमा पनि छलफल हुनेछ । सरकार विस्तारमा भएको ढिलाइ, गृह मन्त्रालयको विवादास्पद विज्ञप्तिलगायत विषयमा पनि देउवाको ध्यानाकर्षण गराउने तयारी भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७