तीन दिनसम्म घरघरमा दीपावली गरेर संविधान दिवस मनाइने


२४ भाद्र २०७८, बिहीबार
deepawali NGc44fub4q

काठमाडौं, २४ भदौं । तीन दिनसम्म घरघरमा दीपावली गरेर सातौं संविधान दिवस मनाउने निर्णय सरकारले गरेको छ । सरकारले नेपालको संविधान जारी भएको असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाउँदै आएको छ । संविधान दिवस २०७८ का अवसरमा आगामी असोज २ गतेदेखि ४ गतेसम्म राष्ट्रिय दिवसका रुपमा दीपावलीसहितका कार्यक्रम गरेर संविधान दिवस मनाउने निर्णय सरकारले गरेको हो ।

संविधान दिवसका अवसरमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा दीपावलीलगायत कार्यक्रम गर्ने सरकारको तयारी छ । संविधान दिवसलाई राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमितिको बुधबार बसेको बैठकले संविधान दिवसको प्रचारप्रसारका लागि सरकारी, सामुदायिक तथा निजी क्षेत्रका सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा प्रचारप्रसार उपसमितिका संयोजक डा.बैकुण्ठ अर्यालको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले संविधान दिवसका दिन नेपालको राष्ट्रिय झण्डा आ–आफ्ना घरघरमा सम्मानका साथ राख्न पनि अनुरोध गर्ने निर्णय गरेको छ ।

संविधान दिवसको शुभकामना सन्देश वा एसएमएस नेपाल टेलिकममार्फत व्यापक रुपमा पठाउने तथा डिस्प्ले बोर्डमा सन्देश प्रसारण गर्ने, नेपालको संविधानका विषयमा केन्द्रित रही विशेष संवाद, परिसंवादलगायत जनचेतनामूलक कार्यक्रम प्रसारण, प्रकाशन गराउने, राष्ट्रियस्तरका पत्रपत्रिकामा संविधान विशेषाङ्क, स्मारिका प्रकाशन गर्नुका साथै संविधानको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेखरचनाको सँगालो प्रकाशन गर्ने निर्णय पनि समितिले गरेको छ ।

साथै राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्र संस्थानबाट संविधानको महत्वबारे समाचार, आलेख, अन्तर्वार्ता, कार्यक्रम आदि प्रसारण, प्रकाशन गर्ने निर्णय पनि समितिले जनाएको छ । काठमाडौँ उपत्यका र बाहिरका डिस्प्ले बोर्डमा शुभकामना सन्देश राख्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाले समन्वय गर्न अनुरोध गरिने अर्यालले बताए । नेपाली सैनिक मञ्च, टुँडिखेलमा हुने औपचारिक समारोहको प्रत्यक्ष प्रसारण भने नेपाल टेलिभिजन र रेडियो नेपालले गर्नेछन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७