बहराइनमा नेपाली श्रमिकमाथि कुटपिट, दूताबासले गरायो ध्यानाकर्षण


२७ भाद्र २०७८, आईतवार
nepali

काठमाडौं, २७ भदौं । बहराइनमा नेपालीसहित आप्रवासी श्रमिकमाथि कुटपिट भएको छ । विभिन्न मागहरु राखेर आन्दोलन गर्दै आएका ग्याँस–तेल प्रशोधन केन्द्रमा कार्यरत श्रमिकलाई काममा नफर्किएको भन्दै कम्पनीको व्यवस्थापन पक्षले कुटपिट गरेको हो ।

कम्पनी व्यवस्थापन पक्षले शनिबार कोठाभित्र बसिरहेका बेला आफूहरुमाथि आक्रमण गरेको त्यहाँ कार्यरत नेपाली श्रमिकहरुले बताएका छन् । बहराइन सरकारको बाप्को प्रोजेक्ट (प्रमुख ग्याँस–तेल प्रशोधन केन्द्र) निर्माणमा संलग्न श्रमिकहरु उचित पारिश्रमिक, सुरक्षा लगायतका माग गर्दै गएको मंगलबारदेखि आन्दोलनमा थिए ।

उनीहरुको माग पूरा नगरी व्यवस्थापन पक्षले काममा फर्किन दबाब दिंदै आएको थियो ।
आन्दोलनरत श्रमिकसँग बहराइन सरकारको श्रम, स्वास्थ्य, आन्तरिक मन्त्रालय, कम्पनी र नेपाली दूतावासका प्रतिनिधिबीच छलफल समेत भइसकेको अवस्थामा आफूहरुमाथि कुटपिट भएको एक श्रमिकले बताए ।

छलफलमा स्वदेश फिर्न चाहने श्रमिकलाई जान दिने र काम गर्नेहरु ड्यूटीमा जाने सहमति भएको थियो । हिजो ड्यूटीमा नगइ कोठामै बसेका श्रमिकमाथि कम्पनी व्यवस्थापन पक्षले कोठामै गएर कुटपिट गरेको हो ।

कुटपिटबाट केही श्रमिक घाइते भएका छन् । उनीहरुलाई उपचारको व्यवस्था मिलाइएको बहराइनस्थित नेपाली राजदूताबासले जनाएको छ । बाप्को प्रोजेक्टमा कार्यरत करिब सात सय नेपाली र केही भारतीय श्रमिकहरु सुरक्षा, स्वस्थकर खाना, उचित पारिश्रमिक लगायतका माग राख्दै ड्यूटी छाडेर नोगा क्याम्पमा बसेका छन् । श्रमिकमाथि कुटपिट भएको घटनापछि नेपाली दूतावासले बहराइनको श्रम मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

श्रम मन्त्रालयले श्रमिकका वैधानिक मागहरु पूरा गर्ने विश्वास दिलाएको बहराइनका लागि कार्यवाहक राजदूत अरुणा घिसिङले जानकारी दिए । बहराइन सरकारले श्रमिकका समस्या समाधानमा गर्ने प्रतिवद्धता जनाएको भन्दै संयमता अपनाउन दूताबासले नेपाली श्रमिकलाई आग्रह गरेको छ ।

1 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७