युवती मृत फेला, अनुसन्धानका लागि एक जना पक्राउ


३० भाद्र २०७८, बुधबार
karisma chaudhari HMvPljRbtW

सिरहा, ३० भदौं । सिरहाको लहानमा उदयपुरकी एक युवती मृत भेटिएकी छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैराकी २१ वर्षीया करिश्मा चौधरी आफ्नै कोठाभित्र मृत भेटिएकी हुन् । लहानस्थित एक कपडा पसलमा काम गर्दै आएकी करिश्मा कोठाको बाहिरबाट चुकुल लगाएको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय लहानले जानकारी दिएको छ ।

करिश्मा दिउँसोदेखि साँझसम्म कोठाबाट बाहिर ननिस्किएपछि घरबेटीले कोठा खोलेर हेर्दा उनलाई मृत अवस्थामा फेला पारिएको मृतक युवतीका मामाको छोरा राजेश चौधरीले बताए । राजेशले करिश्माको हत्या भएको दाबी गरेका छन् ।

इलाका प्रहरी कार्यालय लहानले मृतकको घाँटीमा डोरीले बाँधेको डाम, रगत र टाउकोमा चोट देखिएको बताएको छ । चुकुल बाहिरबाट लगाइएको अवस्थामा भेटिनुले थप शंका उब्जाएको भन्दै परिवारले छानविनको माग गरेको छ ।

यता अनुसन्धानको लागि भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्या वा आत्महत्या भन्ने पोस्टमार्टमपछि मात्र थाहा हुने र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७