काठमाडौंका विद्यालय असोज १० देखि खोल्दा पाइने


७ आश्विन २०७८, बिहीबार
school

काठमाडौं, ७ असोज । काठमाडौं महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय यही असोज १० गते सञ्चालन गर्न सकिने नगर शिक्षा समितिले निर्णय गरेको छ ।

बुधबार बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रूपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहितको निर्णय गरेको हो । कोभिड–१९ संक्रमणका कारण स्वास्थ्य मापदण्ड लागु गरिएको हो ।

पालना गर्नुपर्ने न्यूनतम मापदण्डहरू
१. विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक अभिभावक संघ र सम्बन्धित वडासमेतका सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी सहमति र समझदारीमा मात्र भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने ।
२. विद्यालयहरूले विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाई अनिवार्य रूपमा शिक्षा विभागमा पेस गर्ने ।
३. विद्यालयमा विद्यार्थीहरूको सम्पर्कमा रहने शिक्षक, कर्मचारी, चालक, सहचालकलगायत सबैले खोप लगाएको सुनिश्चित गर्ने, यदि खोप लगाउन कोही बाँकी भए तुरुन्त काठमाडौं महानगरपालिकाको जनस्वास्थ्य विभागमा सम्पर्क राखी खोप लगाउने ।
४. विद्यालय सञ्चालनपूर्व विद्यालय परिसर र कक्षाकोठाको पूर्ण सरसफाइको सुनिश्चितता गर्ने ।
५. विद्यालयको भौतिक अवस्था, विद्यार्थी संख्या र उपलब्ध जनशक्तिका आधारमा एकै सिफ्ट वा फरक–फरक सिफ्ट र दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
६. विद्यालयको गेटमा र कक्षाकोठाबाहिर स्यानिटाइजर वा साबुनपानीको प्रबन्ध गरी बेलाबेलामा हात स्यानिटाइज गर्ने वा धुने व्यवस्था मिलाउने ।
७. विद्यालयको गेटमा नै थर्मल गन राखेर प्रत्येक दिन विद्यार्थी र कर्मचारीको ज्वरो परीक्षण गर्ने र ज्वरो नआएको यकिन गरेर मात्र भित्र पठाउने व्यवस्था मिलाउने ।
८. विद्यालयको गेट, कक्षाकोठा र शौचालयको प्रयोग गर्दा बच्चाहरू लाइनमा, पालैपालो दूरी कायम गरी निस्कने र पस्ने प्रबन्ध गर्ने ।
९. सबैजनाले अनिवार्य रूपमा मास्क लगाउने, जगेडा मास्क लिई आउने र मास्क नलगाई आउने विद्यार्थीलाई विद्यालयले मास्क उपलब्ध गराउने व्यवस्था मिलाउने ।
१०. खाजा र पानीको प्रबन्ध विद्यार्थी स्वयंले घरबाट नै गर्न सूचित गर्ने ।
११. कक्षाकोठाको क्षमताका आधारमा भौतिक दूरी कायम हुने गरी मात्र विद्यार्थीहरूको बसाइ व्यवस्थापन गर्ने ।
१२. प्रत्येक दिन कक्षा सुरु गर्नुपूर्व र कक्षा सञ्चालनपश्चात् विद्यालय परिसर र कक्षाकोठाहरू अनिवार्य रूपमा स्यानिटाइज गर्ने व्यवस्था मिलाउने ।
१३. स्वास्थ्य समस्या भएका विद्यार्थी, शिक्षक र कर्मचारीहरूलाई विद्यालय नआउन जानकारी गराउने ।
१४. विद्यालयहरूले बालबालिकाहरूलाई हरेक दिन कक्षा सञ्चालनपूर्व १० र १५ मिनेट स्वास्थ्य सतर्कताबारे सजग गराउने र मनोपरामर्श गरी उत्प्रेरणा प्रदान गर्ने ।
१५. विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र सम्बन्धित वडाबाट नियमित रूपमा अनुगमन र समन्वय गर्ने व्यवस्था मिलाउने ।
१६. विद्यालयमा बच्चालाई स्वास्थ्य समस्या देखिएमा छुट्टै आइसोलेसन कक्षमा राख्ने व्यवस्था गर्ने, अभिभावकलाई खबर गर्ने र तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजाने व्यवस्था मिलाउने ।
१७. विद्यालयमा सामूहिक कार्यक्रम÷सामूहिक प्रार्थना आदि नगराउने ।
१८. विद्यालयमा खाजा समयमा भिडभाड नहुने गरी आलोपालो गर्ने प्रबन्ध मिलाउने ।
१९. विद्यार्थीलाई आफ्ना पाठ्यसामग्री, पानीका बोतल, खाजा, झोला आदि सामान आफूले मात्र प्रयोग गर्न र साथीसँग साटासाट नगर्न सजग गराउने ।
२०. अभिभावकले नै बच्चा विद्यालयमा ल्याउने लैजाने कार्यलाई प्रोत्साहित गर्ने । सवारीसाधन प्रयोग गर्नुपर्ने अवस्थामा सामाजिक दूरी कायम हुने गरी सवारीसाधनमा बस्ने व्यवस्था मिलाउने ।
२१. विद्यालयमा स्वास्थ्य वा विज्ञान शिक्षकलाई कोभिड फोकल शिक्षक तोक्ने र हरेक कक्षामा नियमित अनुगमनका लागि विद्यार्थी मनिटरको व्यवस्था गर्ने ।
२२. विद्यालयमा स्वास्थ्य हेल्पडेस्क राख्ने ।
२३. सुरुका दिनमा माथिल्लो कक्षाबाट पठनपाठन थालेर क्रमशः तल्ला कक्षाहरू सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
२४. सुरुका दिनमा कक्षा सञ्चालन गर्दा केही पिरियड मात्र पठनपाठन गरी क्रमशः अवस्था हेरी पिरियडको संख्या बढाउदै लैजाने ।
२५. सबै विद्यार्थीहरूको भौतिक उपस्थितिमा पूर्ण रूपमा कक्षा सञ्चालन नहुञ्जेल चालु वैकल्पिक सिकाइलाई निरन्तरता दिने ।
२६. अचानक कुनै नयाँ परिस्थिति आइपरेमा महानगर शिक्षा विभागमा खबर गरी प्राप्त निर्देशनानुसार गर्ने ।
२७. काठमाडौं महानगरपालिका, शिक्षा विभागमार्फत नियमित अनुगमनको व्यवस्था मिलाउने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७