हल्ला फैलाए जस्तो हाम्रो गठबन्धन फुट्दैन, सरकार पनि ढल्दैन : माधव नेपाल


७ आश्विन २०७८, बिहीबार
Madhav nepal 1
फाइल फोटो

काठमाडौं, ७ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ पाँच दलीय गठबन्धनको केन्द्रदेखि स्थानीय तहसम्म समन्वय संयन्त्र बनाएर अगाडि बढ्ने बताएका छन् ।

अध्यक्ष नेपालले बिहीवार पार्टी केन्द्रीय कमिटी बैठकको समापनलाई सम्बोधन गर्दै सत्तारुढ पाँच दलीय गठबन्धन बीचको सम्बन्ध सुमधुर रहेको दावी गरे । उनले बाहिर हल्ला भए जस्तो गठबन्धन टुट्ने, फुट्ने र सरकार ढल्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । अध्यक्ष नेपालले गठबन्धनका बीचमा केन्द्रदेखि स्थानीय तहसम्म समन्वय संयन्त्र बनाएर अगाडि बढ्ने तयारी भइरहेको जानकारी दिए ।

गठबन्धनलाई आगामी चुनावभन्दा पछिसम्म निरन्तरता दिइने उनले उल्लेख गरेका छन् । ‘सरकारमा सहभागी दलहरुका नेताहरुबीच निकै राम्रो सुमधुर सम्बन्ध छ’, उनले भने, ‘बाहिर हल्ला फैलाउन खोजे पनि यो गठबन्धन न टुट्छ, न फुट्छ, यो सरकार ढल्छ भन्ने कुरामा कुनै सत्यता छैन ।’

उनले छिट्टै सरकारले पूर्णता पाउने पनि बताएका छन् । ‘एउटा संरचना केन्द्रमा बन्नेछ । दस्तावेज पास गर्नेछ । यसको नामाकरण पनि गर्नेछ’, उनले थपे, ‘त्यसको प्रदेश, जिल्ला र पालिकामा पाँचै दलबीचमा समन्वय संयन्त्र बनाउनेछौं । सहकार्य पनि गर्दै जानेछौं । आगामी चुनावमा हामी, चनुावसम्म र चुनावपछि गठबन्धनलाई निरन्तरता दिन्छौं ।’

अध्यक्ष नेपालले यो गठबन्धनको मुल आधार राष्ट्रियता, लोकतन्त्र र समाजवादको दिशामा अगाडि बढ्ने नीति रहेको उल्लेख गरे । उनले आफ्नो पार्टी कसैसँग मिसिनुपर्ने आवश्यकता नभएको पनि स्पष्ट पारेका छन् । पार्टीको जग बलियो भएको र कार्यकर्ताहरुको व्यापक समर्थन भएका कारण संगठन फैलिदै गएको पनि उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७