चीनको ‘समान समृद्धि’ नीतिबाट किन भाग्न खोज्दै छन् अर्बपतिहरु ?


८ आश्विन २०७८, शुक्रबार
china1632444300

बेइजिङ, ८ असोज । पछिल्लो समय चीनमा ‘समान समृद्धि’ भन्ने नारा जताततै चर्चामा आइरहेको छ । यसलाई पहिलो पटक क्रान्तिकारी नेता माओत्सेतुङले प्रयोग गरेका थिए र अहिले राष्ट्रपति शि जिनपिङको पालामा यो मन्त्रले एउटा छुट्टै नयाँ युगलाई जन्म दिनेछ ।

अगस्ट १७ को आर्थिक बैठकमा जिनपिङले चिनिया शैलीको आधुनिकीकरणका निम्ति समान समृद्धि अत्यन्तै जरुरी भएको बताएका थिए । आफ्नो भाषणभरि उनले १५ पटक उक्त वाक्यांशको प्रयोग गरे । र, त्यही बेलादेखि यसबारे चर्चा सुरु भएको हो ।

पिपुल्स डेलीका अनुसार यस नीतिको लक्ष्य मध्यम आय समूहको विस्तार गराउनु, कम आयदर समूहको आम्दानी वृद्धि गर्नु र उच्च आय भएकाहरुलाई समायोजित गराउने अनि गैरकानुनी आयलाई पूर्ण रुपमा प्रतिबन्धित गर्नु छ । यसमा कुनै शंका छैन कि यो नीति, चाइनिज कम्युनिस्ट पार्टी (सीसीपी) लाई चीनका उच्च या धनी वर्गहरुलाई नियमित गराउन अधिक सहयोगी साबित हुनेछ ।

‘अर्बपति र ठुल्ठूला प्राविधिक कम्पनीहरु सीसीपीका लागि जोखिमपूर्ण बन्न सक्छन् । किनकी उनीहरुले आफूलाई सामाजिक र राजनीतिक शक्तिको विकल्पका रुपमा देखाउँन सक्छन्’, बेइजिङ क्यापिटल नर्मल युनिभर्सिटीका असोसिएट प्रोफेसर डेभिड मोजर बताउँछन् ।

यस्तोमा डराएका केही लगानीकर्ताहरु आफ्नो स्टक कम मूल्यमै बेचेर त्यसबाट उम्किन खोजिरहेका छन् । सरकारी नियामकहरुले प्राविधिक कम्पनीलाई लक्षित गर्दै कडाइ अपनाउन थालेदेखि चिनियाँ फर्महरुको झण्डै १ ट्रिलियन डलर बराबर मूल्य गुमिसकेको छ । यसमा चीन सरकारले विद्युतीय भुक्तान प्रदायकदेखि घरजग्गा बिक्री गर्ने रियल स्टेट कम्पनी, निजी शैक्षिक संस्था र गेमिङ क्षेत्र समेतलाई लक्षित गरिरहेका छन् ।

अत्यन्तै प्रतिस्पर्धात्मक शिक्षा प्रणाली रहेको चीनमा निजी शिक्षण संस्थाको उद्योग १२० अर्ब डलरको छ भने गेमिङ क्षेत्रले पनि गत वर्ष ४४ अर्ब डलर कमाएको थियो । तर, अहिले सरकारको अधिकतम दबाब पश्चात् यी दुवै उद्योग नयाँ उपायहरु अपनाउन बाध्य बनेका छन् । जस्तै बालबालिकाहरुले हप्तामा तीन घण्टा भन्दा बढी अनलाइन गेम खेल्न नपाउने सिस्टम लागु गरिएको छ ।

सरकारको यस्तो कदमले मानिसमा चिन्ता बढाएपछि पिपुल्स डेलीले बुधबार मात्र यसबारे एक लेख प्रकाशन गर्दै सरकारको उद्देश्य व्यवसायहरुलाई क्षति पुर्याउन नभएको र निजी क्षेत्र यथावत अवस्थामा रहने आश्वासन दिलाएको हो । तरपनि यस कुरालाई कसैले नकार्न सक्दैन कि चीनमा बिस्तारै ऐतिहासिक किमिसको सामाजिक–आर्थिक परिवर्तन भित्रिदै छ ।

अघिल्लो महिना सीसीपीका एक वरिष्ठ अधिकारीले ‘समान समृद्धि’ को अर्थ धनीलाई मारेर गरिबको मद्दत गर्नु नभएको बताएका थिए । जिनपिङले भने यसको लक्ष्य सबै आधारमा मध्यम स्तरको समृद्ध समाज निर्माण गर्नु रहेको बताउँदै आएका छन् । यसअघि उनले ‘पूर्ण गरिबी’ को स्थितिबाट चीन मुक्त भइसकेको घोषणा गर्दैगर्दा यो लक्ष्य केही हदसम्म पूरा भइरहेको बताएका थिए । पिपुल्स रिपब्लिकको चाहना २०४९ सम्ममा आधुनिक समाजवादी मुलुक निर्माण गर्नु हो जुन समृद्ध, शक्तिशाली, सांस्कृतिक रुपमा आधुनिक र सुसंगत पनि होस् ।

अहिलेका लागि चाहिँ धन देखाउँदै कर छलि गर्ने सेलिब्रेटीहरु चीनको मुख्य निशानामा छन् । उनीहरुले त्यस्ता कलाकारलाई इन्टरनेटमा सबैतिरबाट हटाइसकेका छन् । त्यस्तै शैक्षिक समाधानका रुपमा पनि सरकारले सबै विद्यालयहरुमा उत्कृष्ट शिक्षकहरु राखेर शैक्षिक स्तरलाई बराबरी पार्ने काम तीव्र रुपमा अघि बढाउने बताएको छ ।

तर, अझैसम्म पनि सरकारले समान समृद्धि र समाजवाद व्यवहारमा के कसरी कार्यान्वयन गरिनेछ भन्नेमा विस्तृत जानकारी दिएको छैन । त्यसैले पनि देशका धनी वर्ग, विशेष गरी अर्बपतिहरुले समान समृद्धिको अर्थ आफै खोज्नुपर्ने भएको छ । यसको सम्भावित समाधान गर्न भन्दै कतिले त परोपकारी संस्थाहरुमा अरबौँ दान गरिरहेका छन् ।

जस्तै बिहीबार मात्र अलिबाबाका संस्थापक ज्याक माले समृद्धिसँग सम्बन्धित परियोजनाहरुमा २०२५ भित्र १५.५ अर्ब डलर प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै प्राविधिक कम्पनी टेनसेन्टले पनि यसअघि १०० अर्ब युआन अनि शाओमी र मेइटुआनले प्रति दश अर्ब सामाजिक परियोजनामा खर्च गर्ने संकल्प गरेका छन् ।

यसअघि अलिबाबामाथि सरकारले २.८ अर्ब डलरको जरिबाना लगाएको थियो । यसरी जिनपिङले आफू साधारण जनताको पक्षमा रहेको देखाउनका लागि पनि यस्ता कदमहरु उठाइरहेका छन् । यसरी राजनीतिक निशानामा पर्ने डरकै कारण चीनका प्रख्यात टाइकुनहरु कसैलाई थाहा नदिइ चुपचाप आफ्नो पदबाट पछि हटिरहेका छन् । जस्तै कि टिकटकको स्वामित्व रहेको कम्पनी बाइटडान्सका प्रमुख जाङ यिमिङ, जेडी डटकमका रिचार्ड लिउ र पिडुओडुओका कोलिन हुवाङ ज्याक मा जसरी नै सबैको केन्द्रबाट हटिरहेका छन् । टाइमबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७