विश्वका धनी सूचीमा परेका मान्छे नेपालमा कर तिर्नेको सूचीको १० नम्बरमा पनि किन पर्दैन ?

‘कालो धन सेतो बनाउन जनार्दन दलालका प्रतिनिधि भएर निस्केका छन्’


११ आश्विन २०७८, सोमबार
KP Sharma Oli 2

काठमाडौं, १० असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दलाल पूँजीवादलाई हत्तोसाहित गर्नुपर्ने बताएका छन् । दलाल पुँजीले उत्पादकत्व नबढाउने भन्दै अध्यक्ष ओलीले राष्ट्रिय पुँजीको विकास गर्नुको विकल्प नरहेको बताएका हुन् ।

तीन दिनसम्म चलेको एमाले केन्द्रीय कमिटी बैठकमा १० वटा समूहले उठाएका प्रश्नको अध्यक्ष केपी जवाफ दिदै ओलीले विश्वको धनीको सूचीमा परेका मान्छे नेपालमा कर तिर्नेको सूचीको १० नम्बरमा पनि नपर्नु दलाल पूँजीको असर भएको बताए । ओलीले भने, ‘विश्वका धनीको सूचीमा परेका मान्छे नेपालमा कर तिर्नेको सूचीको १० नम्बरमा पनि किन पर्दैन ?’

अध्यक्ष ओलीको यो भनाई उद्योगपति विनोद चौधरीप्रति लक्षित हो । चौधरी ग्रुपका मालिक चौधरी विश्वका अर्बपतिहरुको सूचीमा छन् । विश्व प्रसिद्ध म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको धानाढ्यहरूको ४५ औं वार्षिक सूची अनुसार गत वर्ष चौधरी २१४१ स्थानमा थिए । दुई वर्ष लगातार उनको वार्षिक धन १.४ अर्ब अमेरिकी डलर छ । सन् २०१९ मा उनको धन बढेर १.७ अर्ब डलर पुगेको थियो । सन् २०१७ बाट उनको सम्पत्ति बढ्न थालेको हो ।

उद्योगपति चौधरीले सन् २०१३ मा पहिलोपटक फर्ब्सको विश्वका अर्बपतिहरूको सूचीमा प्रवेश गरेका हुन् । उनले फोर्ब्सको सूचीमा प्रवेश लिँदा उनको धन एक अर्ब अमेरिकी डलर थियो । सन् २०१५ सम्ममा उनले आफ्नो धन १.३ अर्ब पुर्‍याइसकेका थिए । भुकम्प र नाकाबन्दी खेपेको वर्ष २०१६ मा उनको धन घट्यो । जसकारण उनको धन १.१ अर्ब डलरमा खुम्चिन पुग्यो । तर, त्यसपछिका वर्षहरूमा उनले धन आर्जन बढाउँदै गए । उनको राजनीतिमा सक्रियाता समेत बढ्दै गयो । विनोद चौधरी प्रतिनिधी सभामा नेपाली कांग्रेसका संसद् समेत हुन् ।

फोर्ब्सका अनुसार चौधरीको आम्दानीको प्रमूख स्रोतका रुपमा नबिल बैंक, चौधरी ग्रुप अन्तर्गत देशदेखि विदेशसम्म रहेका उद्योग, रेस्टुरेन्ट र होटलहरु रहेको जानकारी दिएको छ।

चौधरीको प्रमुख आधार र लगानी नेपालमा नै हो । तर चौधरी विश्वको धानाढ्यहरूको सूचीमा परे पनि नेपालमा भने कर तिर्नेको सूचीमा छैनन् । गत वर्षको रेकर्ड अनुसार नेपालमा व्यक्तिगततर्फ सिद्धार्थ शमशेर जबरा, संस्थागत तर्फ ठूलो करदाता सूर्य नेपाल प्रालि, निर्यातकर्ता तर्फ डाबर नेपाल छ ।


‘कालो धन सेतो बनाउन जनार्दन दलालका प्रतिनिधि भएर निस्केका छन्’
अध्यक्ष ओलीले अर्थमन्त्री जनार्दन शर्मा ‘कालो धन सेतो बनाउन जनार्दन दलालका प्रतिनिधि भएर निस्केकेको बताए । भने, ‘ कालो धन सेतो बनाउन प्रचण्ड–माधव लागेका छन् । जनार्दन शर्मा दलालका प्रतिनिधि भएर निस्केका छन्। अहिले ‘ब्युरोक्र्याटिक कम्प्राडर’ को बिगबिगी भयो ।’


प्रचण्डको महत्वाकांक्षा नियन्त्रण गर्न सकिएन
अध्यक्ष ओलीले प्रचण्डको महत्वाकांक्षा नियन्त्रण गर्न नसक्दा पार्टी फुटेको बताए । भने, ‘हामीले पार्टी एकता जोगाउन सकेनौँ। किनभने, प्रचण्डलाई सम्झाउन सकेनौँ। उनको महत्वाकांक्षा नियन्त्रण गर्न सकिएन। हामी बाह्य नैतिक सहयोग लिन्छौँ तर भौतिक सहयोग लिएर पार्टी चलाउँदैनौँ, अरु बाँकी दल त्यस्ता छन् ।’

आगमी महाधिवेशन एकताको महाधिवेशन भएको बताए । भने, ‘पार्टी महाधिवेशनमा चुनाव भए माओवादी पक्षधर साथीहरु हार्नुहोला। हिजोको पक्षधरताका आधारमा अरुले पनि हार्नुहोला। त्यसैले त्यसको पनि केही उपाय निस्केला।

सबैलाई उचित स्थानमा राख्नुपर्छ। घरको ढलान नभएसम्म टेको लगाइन्छ, पार्टीमा अहिले त्यस्तै अवस्था छ। मूलतः आगामी महाधिवेशन एकताको महाधिवेशन भएकाले हामीले त्यसैगरी जानुपर्छ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७