घनश्याम भुसाल र योगेश भट्टराईसँग प्रचण्ड यतिधेरै आक्रमक किन ?


११ आश्विन २०७८, सोमबार
Parchand

काठमाडौं, ११ असोज : गत वर्ष ठिक यतिबेला दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र तिव्र शक्ति संघर्ष चलिरहेको थियो । अध्यक्ष ओलीको भाषामा नेकपा ‘टेम्पो होइन, जेट विमान । उनीहरु पाइलट ।’ जेठ विमानका दुई पाइलटले एउटै दिशामा होइन अलग-अलग दिशामा विमान उडाउने प्रयास गरिरहेका थिए, गत वर्ष यस बेला ।

विमान दुर्घटनाको दिशातिर बेग गतिमा उडिरहेका बेला विमानका केही ‘क्रु मेम्बर’हरु सम्भावित दुर्घटना रोक्न उसैगरी तेज गतिमा सक्रिय थिए, भने ‘क्रु मेम्बर’हरु दुई पाइलटलाई उत्तेजित पारेर दुर्घटना गराउने तिर सक्रिय थिए । दुर्घटना रोक्न सक्रिय ती ‘क्रु मेम्बर’ मध्येका थिए, तत्कालिन नेकपा नेता तथा मन्त्रीद्धय घनश्याम भुसाल र योगेश भट्टराई ।

‘क्रु मेम्बर’ अर्थात् यी दुई भाई यतिधेरै दौडिरहेका थिए, उनीहरु कहिले जेट विमानका पाइलटद्धय कहाँ, कहिले पाइलटद्धयका विश्वासपात्रहरु कहाँ पुग्थे । त्यतिबेला दुबै पाइलट यतिधेरै उत्तेजित र अनियन्त्रित गतिमा थिए की उनीहरु जसरी पनि आफ्नो दिशातिर विमान लैजान चहान्थ्थे । आ–आफू निकट ‘क्रु मेम्बर’ले उनीहरुलाई हौसाइरहेका थिए । ती मध्येमा फरक थिए, घनश्याम र योगेश ।

घनश्याम र योगेश जसले प्रचण्डलाई ओलीसँग मिल्न सुझाए

यी दुई भाईले दुवै पाइलटलाई मिल्नका लागि दबाब सृजना गरीरहेका थिए । अध्यक्ष प्रचण्डलाई घनश्याम र योगेशले पटक-पटक अध्यक्ष ओलीसँग मिल्न भनेका थिए । उनीहरु दुबैले भनेका थिए, ‘कमरेड प्रचण्ड, अहिले तपाई कमरेड ओलीसँग मिलेर अघि बढ्नुहोस् । अनि मात्रै एकता जोगिन्छ ।’ यद्यपि अध्यक्ष ओलीको गुटमा थिएनन् यी दुई भाई । दुबै तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाल निकट थिए ।

ओलीको विचार र कार्यशैलीसँग गहिरो विमति राखेर हिडिरहने पनि नेकपाको एकताको बचाइराख्न ओली र प्रचण्ड मिल्नु पर्ने प्रष्ट धारण थियो उनीहरुको । प्रचण्डसँग भेटेर उनीहरु दुबैले पटक-पटक भनेका थिए, ‘कमरेड ओलीसँग हामी लडौंला । तर तपाई मिल्नुहोस् । त्यति पर पनि नजानुहोस् की यो लडाईले पार्टी नै विभाजन होस् । हामी नमिल्दा वा लड्दा पार्टी ब्रेक हुदैंन तर तपाई नमिल्दा पार्टी ब्रेक हुन्छ ।’

ओली र प्रचण्ड मिल्दा आफ्नो समूह किनारामा पर्ने तर एकता जोगिने उनीहरुको निचोड थिए । उनीहरुले भनेका थिए, ‘हामी किनारामा परेर होस्, अन्याय सहेर होस् अहिले एकता बचाइराख्नुपर्छ । एकता जोगियो भने सबै जोगिन्छ ।’

घनश्याम र योगेशसँग किन आक्रमक त ?
यसरी सुझाव दिने घनश्याम र योगेशप्रति नै प्रचण्ड पछिल्लो समयमा आक्रमक देखिएका छन् । आफ्नो हरेक जसो भाषणमा प्रचण्डले यी दुई भाई लगायत दोस्रो पुस्ताको बिरुद्धमा बोल्ने गरेका छन् । गत असोज ४ गते एक कार्यक्रममा घनश्याम र योगेशहरुले ओलीसँग ‘आत्मसमर्पण’ गरेको प्रचण्डले बताए । भनेका थिए, ‘तर, फेरि जसले आफूलाई अलि वैचारिक भन्थे ती मान्छेहरु सबैले आत्मसमर्पण गरे । केपीको निरंकुशता पनि थाहा छ तिनीहरुलाई ।’

यसैगरी ७ असोजमा पनि प्रचण्डले उही कुरा दोहोराएका थिए । घनश्याम भुसाल, योगेश भट्टराईलगायतका नेताहरु पनि एमालेमा धेरै नटिक्ने बताएका थिए । पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गदै प्रचण्डले भने, ‘ती साथीहरुलाई देख्दा, ढिलो छिटो त्यहाँबाट निस्कछन् । त्यहाँ बस्ने ठाउँ छैन ।’

अध्यक्ष प्रचण्डले पटक पटक यस्तो अभिव्यक्ति दिएपछि एमाले उपमहासचिव घनश्याम भुसालले जवाफ फर्काएका थिए । उनले प्रचण्डलाई एमालेको चिन्ता नलिन र आफ्नै पार्टीलाई राम्रो बनाउन सुझाव दिएका थिए । भुसालले सामाजिक सञ्जाल मार्फत भने, ‘कमरेड प्रचण्ड, हाम्राबारे तपाईंको चिन्ता अत्यधिक देखिन थाल्यो । हाम्रो पार्टी हामीले नै बनाउँछौं । तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७