बुद्ध एयरको जहाजमा जहिल्यै समस्या : पटक-पटक आकस्मिक अवतरण र ‘फोर्स ल्याण्डिङ’, के हो समस्या ?


११ आश्विन २०७८, सोमबार
Buddha Air

काठमाडौं, ११ असोज : घटना नम्बर एक : सोमबार (११ असोज २०७८) बिहान बुद्ध एयरको कल साइन ‘नाइन एनएएनआई’ को जहाज काठमाडौंबाट विराटनगर उड्यो । उडान संख्या यु ४ ७०१ रहेको जहाज बिहान ८ बजेर ३३ मिनेटमा ६८ जना, बच्चा २ जना, इन्फ्याण्ट ३ जना गरि ७३ जना यात्रु लिएर विराटनगर उडेको थियो ।

जहाज विराटनगरको आकाशमा पुग्यो । दुई फन्को लगायो । तर बायाँपट्टिको ल्यान्डिङ गियरमा समस्या देखिएपछि काठमाडौं फर्कियो । विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालका अनुसार विराटनगरबाट फर्केर उक्त जहाजले काठमाडौंको आकाशमै झन्डै १० फन्को लगायो ।

सम्भावित दुर्घटनालाई मध्यनजर गरेर विमानस्थलमा फर्म बिछ्याउने, एम्बुलेन्स र दमकल तयार पार्ने काम गरियो । काठमाडौंमा अवतरण गराउन आधा घण्टा विमानस्थल बन्द गरियो । विमानस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना दमकलसहित उपस्थित थिए ।

अल्टिच्युड एयरका क्याप्टेन विवेक खड्काले हेलिप्याडबाट उक्त जहाजको तस्बिर खिचेर टावरलाई ल्यान्डिङ गियर खुलेको गराएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा १० बजेर २१ मिनेटमा सुरक्षित रुपले अवतरण गरियो ।

जहाज करिव २ घण्टा ५ मिनेट फन्को मारेका थिए । विमानमा चढेका यात्रुहरुको २ घन्टा ५ मिनेट समय असाध्यै तनावपूर्ण रह्यो । जहाजभित्रै रूवाबासी चल्यो । यात्रु प्रताप लिम्बुले अवतरणपछि सञ्चार माध्यमसँग भने, ‘इन्धन सकेर धावनमार्गमा पानी छर्केर त्यसमाथि फम राखेर अवतरण गराउने हो भनेर जानकारी गराउनुभयो । त्यसपछि अब अन्तिम पटक प्रयास गर्छौं भन्नुभयो । नभन्दै सुरक्षित अवतरण भयो । जहाजमा मानिसहरु रोइकराई गरिरहेका थिए । कतिपय त बेहोस नै भए होलान् । जति दह्रो मन भएपनि यस्तो हुन्छ । एयर होस्टेसको आँखामा आँसु थियो । तर, उहाँहरु हामीलाई केही हुँदैन भनेर सम्झाउँदै हुनुहुन्थ्यो ।’

क्याप्टेन एजी शेर्पाले जसले नेपाली आकाशमा उडान भर्न थालेको २४ वर्ष भयो । उनै खारिएका पाइलटको धर्यता र सिपले ७७ जना यात्रु सकुशल भए । शेर्पा भन्छन्, ‘यात्रुहरु निकै राइरहनुभएको थियो, तर म डराएको भए जहाज बीचमै खस्थ्यो होला, त्यो अवस्थामा म निकै सतर्क भएँ, सेकेन्ड सेकेन्डमा जहाज कतातिर मोडेको छु याद गरेँ, एयर होस्टेसहरू पनि हाई अलर्टमा रहेर मलाई साथ दिए । अवस्था त निकै चुनौतीपूर्ण थियो ।’ सोमबार जहाजको बाहेक अरु कुनै समस्या थिएन ।

घटना नम्बर २ : सोमबार (११ असोज २०७८) बुद्ध एयरको अर्को जहाजमा समस्या देखियो । ककपिटमा धुवाँ देखिएपछि सोमबार बुद्ध एयरकै अर्को जहाज काठमाडौं फिर्ता भयो । बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।


घटना नम्बर तीन : गत साउन ११ गते पनि उडिरहेका बुद्ध एयरका दुई जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । काठमाडौं–धनगडी उडानमा रहेको बुद्ध एयरको जहाजको हाइड्रोलिकमा समस्या आएपछि काठमाडौंमै आकस्मिक अवतरण गरिएको थियो ।

budhha Air 1
२ घण्टा ५ मिनेट फन्को मारेपछि सोमबार अवतरण गर्दै बुद्धको जहाज ।

विमानस्थलका अनुसार काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको बीएचए २५५ नम्बर उडानको एटीआर ७२ जहाजमा प्राविधिक समस्या आएपछि साँझ ६ः ३० बजे काठमाडौं अवतरण भएको थियो । ११ साउनमै काठमाडौंबाट नेपालगञ्ज उडेको जहाज पनि आकमिस्क अवतरण गराइएको थियो ।

यो त बुद्ध एयरको पछिल्लो समयमा देखिएको समस्या हो । बुद्ध एयरको जहाज पटक–पटक आकस्मिक अवतरण र ‘फोर्स ल्याण्डिङ’ भएको समाचार आइरहेको छ । बुद्ध एयरले सोमबार भने सुरक्षित साथ जहाज अवतरण भएकाले चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल रहेको बुद्ध एयरले जानकारी दिएको छ ।

बुद्धले विज्ञप्ति मार्फत भनेको छ, ‘जहाज विराटनगर अतवरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको तथा टावरले पनि गियर नझरेको जानकारी दिएपश्चात जहाजलाई क्याप्टेनले पुनः काठमाडौं फर्काउने निणर्य गरे ।’

बुद्धले हरेक यस्तो घटनापछि सुरक्षित उडानमा आफू प्रतिबद्ध रहेको जनाउने गरेको छ । तर यसरी समस्या दोहोरहनु गम्भिर समस्या भएको विज्ञहरुको भनाई छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार दुर्घटना बाहेकका अन्य घटनाहरुमा छानविन समिति बनाउने प्रचलन छैन ।

Buddha air 1
यो बुद्धको २४ वर्ष पुरानो जहाज हो

पछिल्लो समय यता बुद्ध एयरको जहाजले पटक पटक आकमिस्क अवतरण र फोर्स ल्यान्डिङ गरेको छ । उसले यस प्रकारको घटनाको छानबिनका लागि समिति पनि बनाएको छ । समितिले अनुसन्धानपछि आफ्नो रिपोर्ट नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको छ । त्यस्तै प्राधिकरणले पनि छुट्टै छानबिन पनि गरेको छ । तर छानविन भने सधैं गुपचुपमा राख्ने गरिएको छ ।

के हो समस्या ?
यसरी पटक पटक प्राविधिक समस्या देखिएका बुद्ध एयरका जहाज दुबै पुरानो र सेकेन्ड ह्यान्ड जहाज हो । नाइन एनएएनआई अर्थात् विराटनगर उड्दा समस्या देखिएको जहाज १५ वर्ष पुरानो जहाज हो । यो जहाज बुद्धले पुरानो ल्याएको हो । यो जहाज भारतको किङफिसर र जेटकोनेक्टले यो प्लेन उडाउने गरेको थियो । बुद्धले २०१९–९–१४ मा सेकन्ड ह्यान्डको रुपमा खरिद गरेको हो । यो जहाज २००७–१२–५ देखि भारतीय आकाशमा उडेको थियो ।

आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाज २४ वर्ष पुरानो जहाज हो । यो जहाज सुरुमा फ्रान्सको एयर ताहितीले प्रयोग गरेको थियो । त्यसपछि भारतको एयर डेकनले प्रयोगमा ल्यायो । बुद्धले नेपालमा सन् २०१० मा किनेर ल्याएको हो । यो जहाज सन् १९९७ मा देखि उडिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७