मन्त्रिपरिषद विस्तार गरिंदै : चार दलबाट यी हुन् सम्भावित १८ मन्त्री


१३ आश्विन २०७८, बुधबार
deuwa 3

काठमाडौं, १३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा अढाइ महिनापछि मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । कांग्रेस सभापति समेत रहेका देउवाले सत्ता साझेदार दलहरूसँग मन्त्री बनाउन नेताहरूको नाम दिन ताकेता गरेका छन् ।

असोजको पहिलो साता नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग देउवाले मन्त्री बन्नेको लिस्ट दिने भनेका थिए । आइतबार पनि देउवाले उनीहरूलाई मन्त्रीको नाम दिन ताकेका गरेका थिए । त्यसपछि प्रचण्ड, माधव र उपेन्द्र मन्त्रीको टुंगो लगाउन आन्तरिक तयारीमा जुटेका हुन् ।

यता, काँग्रेसको रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूह पनि मन्त्री बन्नेको नाम छनोट गर्न लागिपरेको छ । उनीहरूले मन्त्री बन्नेको सूची बुझाएपछि बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी छ । सोमबार राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको हो ।

माधव र उपेन्द्रलाई परेको पार्टीगत रूपमा कानुनी र व्यवहारिक जटिलताको गाँठो फुकाउँदा फुकाउँदै सरकार बनेको ७५ बित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । करिब तीन महिनासम्म ६ मन्त्री बनाएका प्रधानमन्त्री देउवाले १८ मन्त्रीको भारी आफैले बोकेका छन् ।

देउवाले बुधबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न खोजे पनि जसपा अध्यक्ष यादव मधेसमा रहेकाले बिहीबारसम्मका लागि धकेलिएको हो । यादव बुधबार काठमाडौँ आइपुगेपछि गठबन्धनको बैठक बसेर मन्त्रीको भागबण्डा र मन्त्रिपरिषद् विस्तारको निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

संख्यागतरुपमा काँग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने सैद्धान्तिक सहमति छ । भोलि बस्ने बैठक मन्त्रालयगत भागबण्डा टुङ्ग्याउने छ ।

मंगलबार नै गठबन्धनको बैठक राख्ने तयारी भए पनि जसपा अध्यक्ष यादव काठमाडौं बाहिर भएकाले सोमबार र मंगलबार सत्तारुढ गठबन्धनको बैठक बसेको छैन । प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार गठबन्धनको बैठक बस्ने तयारी छ ।

पौडेल–सिटौला समूहका सम्भावित मन्त्री
सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, तेजुलाल चौधरी र राजन केसीको नाम प्रस्तावित छ ।

पौडेल समूहले तीनजना मन्त्री पाउने अपेक्षाका साथ पाँच जनाको नाम छलफलका लागि अगाडि सारेको थियो । तर, अब पाँच जनाबाट दुई जनाको नाम छनोट गर्नुपर्ने भएको छ । महामन्त्री शशांक कोइराला निकट स्रोतका अनुसार काँग्रेसबाट मन्त्रीमा महिलाको सहभागिता नभएकाले सुजाताको सम्भावना बलियो छ ।

माओवादी केन्द्रबाट को–को बन्दै छन् मन्त्री ?
माओवादीबाट हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई र सुदन किराती मध्ये दुई जना मन्त्री बन्ने छन् । यस्तै महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ मध्ये एक जना मन्त्री बन्ने सम्भावना छ ।

मधेसबाट यसपटक मन्त्रीका लागि मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ । प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री नबनाउने नीति लिएपछि नेता नारायणकाजी श्रेष्ठ भने मन्त्रीको रिङबाट आउट हुन पुगेका छन् ।
नेकपा एसमा मन्त्रीको टुंगो
माधव नेपाल नेतृत्वको नव गठित एकीकृत समाजवादी पार्टीले ६ जना मन्त्री पाउने छ । जसमा विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठ मध्येबाट ६ जना मन्त्री बन्ने छन् ।
जसपाबाट मन्त्री बन्नेहरु
जसपाबाट राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव मन्त्री हुने करिब निश्चित जस्तै छ । अध्यक्ष यादव सरकारमा नगएको अवस्था नेता श्रेष्ठको नेतृत्वमा जसपा सरकारमा जानेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७