पेले अस्पतालबाट डिस्चार्ज


१५ आश्विन २०७८, शुक्रबार
pele

काठमाडौं, १५ असोज । कोलोन ट्यूमरको अपरेशनपछि ब्राजिलका लिजेन्ड पेले अस्पतालबाट डिस्चार्ज भएका छन् । गत ४ सेप्टेम्बरमा ८० वर्षीय पेलेको साउ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा अपरेसन गरिएको थियो ।

तीन पटक विश्वकप जित्ने एकलो खेलाडी रहेका पेलेलाई अपरेसन गरेको १० दिनपछि आईसीयूबाट निकालिएको थियो । तर, तत्कालै ‘सुरक्षात्मक उपाय’ भन्दै पुनः भर्ना गरिएको थियो । ‘घर फर्किन पाउँदा म निकै खुशी छु,’ पेलेले फेसबुकमा एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘अस्पतालको बसाइ सहज बनाउने अल्बर्ट आइन्सटाइन अस्पतालका सम्पूर्ण टोलीलाई धन्यवाद दिन चाहन्छु । यति धेरै मायाका सन्देशले मेरो जीवनलाई पूर्ण बनाउने तपाईंहरू सबैलाई पनि धन्यवाद दिन चाहन्छु ।’

उनको मेडिकल टोलीले किमोथेरापी भने जारी राखिने बताएको छ । गत अगस्त ३१ मा नियमित स्वास्थ्य परीक्षणका दौरान ट्युमर देखिएपछि उनको उपचार सुरु गरिएको थियो । पछिल्ला वर्ष पेलेको स्वास्थ्य चिन्ताको विषय बन्ने गरेको छ ।

सन् २०१५ मा उनको प्रोस्टेटको अपरेसन गरिएको थियो भने सन् २०१९ मा पिसाबको इन्फेक्सनका पुनः अस्पताल भर्ना भएका थिए । पेले ९२ खेलमा ७७ गोल गर्दै ब्राजिलका लागि सर्वाधिक गोलकर्ता हुन् । चार वटा विश्वकपमा गोल गर्दै उनी मात्र चार खेलाडीमध्ये एक हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७