मुस्ताङमै च्याङग्राको मूल्य १० हजारसम्म बढ्यो


१८ आश्विन २०७८, सोमबार

मुस्ताङ, १८ असोज । दशैं आयो की च्याङ्ग्राको कुरा जोडिइहाल्छ । मिठो मसिनो खाएर मनाइने चाड हो, दशैं । एक–दुई छाक भए पनि दशैंमा च्याङ्ग्राको मासु चाख्ने धोको जोकोहीले राख्छन् । मनले इच्छाएझैं च्याङ्ग्राको मासु खान सजिलो भने छैन ।

दशैंका लागि च्याङ्ग्रा लिन वर्षेनी यहाँका व्यापारी दुःखजिलो गरेर हिमालपारिको जिल्ला मुस्ताङ पुग्छन् । हप्तौं समय र उस्तै खर्च लगाएर च्याङ्ग्रा ल्याउँछन् । व्यापारी अम्मरबहादुर क्षत्री, महेन्द्र केसीलगायत सोमबार जोमसोम पुगेका छन् । कोही बाटोमा जाँदैछन् । भाउ महँगिएका कारण धेरै च्याङ्ग्रा ल्याउने सोचमा व्यापारी छैनन् ।

‘यस वर्ष सय / डेढ सय च्याङ्ग्रा मात्र बागलुङमा भित्रने देखिन्छ’, केसीले भने, ‘जोमसोममै च्याङ्ग्राको मूल्य रु. दश हजारसम्म बढेको छ ।’ मुस्ताङमा रोज्जा च्याङ्ग्राको मूल्य रु ४० हजारसम्म पुगेकाले यहाँ ल्याएर बेच्दा त्यसको भाउ रु ४५ हजारमाथि पुग्छ । मूल्यमा कुरा मिले बढी किन्ने नत्र पसलबाट बेच्नका लागि थोरै मात्र च्याङ्ग्रा ल्याएर फर्कने केसीले बताए ।

दशैंमा च्याङ्ग्राको मासुको अत्यधिक माग हुन्छ । केही वर्षअघिसम्म दुई हजारसम्म च्याङ्ग्रा यहाँ ल्याइने गरेकामा अहिले त्यो संख्या एकदमै कममा झरेको छ । कोराला नाका नखुल्दा तिब्बतका व्यापारीले सहजरुपमा च्याङ्ग्रा मुस्ताङ ल्याउन पाउँदैनन् । स्थानीय च्याङ्ग्रा मात्र बजारमा आउने गर्छ । मुस्ताङमा पालिने च्याङ्ग्राले मात्र बजार माग धान्दैन । च्याङ्ग्रै कम आएका कारण मूल्य बढेको व्यापारी बताउँछन् । गत वर्ष यहाँका व्यापारीले रोज्जा च्याङ्ग्रालाई रु २७ हजार ५०० तिरेर ल्याएका थिए । अहिले त्यो बढेर रु ४० हजारसम्म पुगेको छ ।

मूल्य चर्को परेपछि कतिपय व्यापारी यसपालि च्याङ्ग्रा किन्नै गएनन् । यहाँका २० भन्दा बढी व्यापारीले दशैंमा च्याङ्ग्राको कारोबार गर्छन् । लामो बाटामा कठिन यात्रा तय गरेर उनीहरुले च्याङ्ग्रा भित्राउँछन् । अर्का व्यापारी क्षत्रीले गत वर्ष जोमसोमदेखि दुई दिनको बाटामा पर्ने चमर भन्ने ठाउँ पुगेर च्याङ्ग्रा ल्याएका थिए । कोभिड–१९ का कारण च्याङ्ग्राको व्यापार पनि खस्किएको क्षत्रीको भनाइ छ । ‘मूल्य बढेको थाहा पाएपछि धेरै व्यापारी च्याङ्ग्रा लिनै गएनन्’, उनले भने ।

च्याङ्ग्रा कम आउनु र बढ्दो कर जस्ता कारणले पनि मूल्य महगिँदै गएको हो । व्यापारीको आउजाउमा पनि बढी खर्च हुन्छ । स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा थप मर्का पर्ने गरेको व्यापारीको गुनासो छ ।

पछिल्ला चार वर्षमा रु २० हजारभन्दा बढीले च्याङ्ग्राको भाउ बढेको छ । छ वर्षदेखि च्याङ्ग्राको कारोबार गर्दै आउनुभएका केसीले महँगो परे पनि दशैँका बेला च्याङ्ग्राको मासु उपभोक्ताको रोजाइमा पर्ने गरेको अनुभव सुनाए । उनको सदरमुकामका मासु पसलसमेत छ । गत वर्ष च्याङ्ग्राको मासु प्रतिकिलो रु १४ सय पुगेको थियो ।

यस वर्ष मूल्य झन् बढ्ने भएको छ । च्याङ्ग्राको व्यापारबाट पहिलेपहिले जस्तो कमाइ हुन छाडेको व्यापारी बताउँछन् । व्यापारीले एउटा च्याङ्ग्रामा रु एक / दुई हजारसम्म फाइदा राखेर बेच्ने गरेका छन् । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थकर मानिन्छ । रासस

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७