काठमाडौं उपत्यकाबाट २०७ पाकेटमार पक्राउ, ४६ जना कारागार चलान


१८ आश्विन २०७८, सोमबार

काठमाडौं, १८ असोज । महानगरीय प्रहरी परिसर काठमाडौंले विशेष अभियान सञ्चालन गरेर २०७ जना पाकेटमारलाई पक्राउ गरेको छ । गएको भदौ ५ गतेदेखि असोज १५ गतेसम्म सञ्चालन गरिएको अभियानमा काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले आज (सोमबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

बस तथा माइक्रो बसमा यात्रा गर्ने यात्रु र किनमेल गर्न बजारमा गएकाहरूको पाकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोरी गर्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

पक्राउ परेका २०७ सात जनामध्ये १६१ जनामाथि अनुसन्धान भइरहेको र ४६ जना अनुसन्धान पुरा भइ जिल्ला प्रशासन कार्यालय काठमाडौंले कारागार चलान गरेको परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिहंले बताए ।

पाकेटमारहरू समूहमा सार्वजनिक बसभित्र पसेर यात्रुहरूलाई घेराबन्दीमा पारेर साङ्केतिक भाषाको प्रयोग गर्दै नगद, मोबाइल तथा सुन चोरी गर्ने गरेको एसएसपी सिंहले बताए । काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था सामान्य बनाउन र दशैंका बेला हुने आवतजावतमा हुन सक्ने पाकेटमारी तथा चोरीलाई रोक्न सक्रिय भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७