प्रतिपक्षीले नाराबाजी मात्र गरे, जवाफ सुन्न चाहेनन् : सांसद बडु


१९ आश्विन २०७८, मंगलवार
Dilendra

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका सांसदहरूले संसदमा विभिन्न विषय उठाएर नाराबाजी गरे पनि त्यसको जवाफ सुन्न नचाहेको बताएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बडुले प्रमुख प्रतिपक्षी दलका सांसदहरूले नारामा विभिन्न विषयको उठान गरेको भए पनि त्यसको जवाफ सुन्न तयार नभएको बताए ।

सभामुखले संसदीय परम्परा, मूल्य मान्यता र प्रतिनिधिसभा नियमावलीबारे बारम्बार सजग गराउँदा पनि प्रतिपक्षी सांसदहरू सुन्न तयार नभएको उनले बताए । संसदमा उठेका कालो धनलगायतका विषयमा सम्बन्धित पक्षले जवाफ दिनका लागि पनि संसद खोल्नुपर्ने उनले बताए । संसद खुलेमा प्रतिपक्ष दलले उठाएको सबै विषयवस्तुको जवाफ पाउने उनको भनाइ छ ।

उनले भने, ‘कालोधनको नारा दिनु हुन्छ, त्यसको जवाफ दिने कसले ? उहाँले एकोहोरो नारा त लगाइरहनु भएको छ । संसदीय परम्परा, मान्यता र हाम्रो प्रतिनिधि सभा नियमावलीले भनेका विषयहरु सभामुखले एकोहोरो सुनाइरहनु भएको छ, तर उहाँहरु त्यसलाई सुन्न तयार हुनुहुन्न । सम्बन्धित पक्षले जवाफ दिन्थ्यो होला हाउसमा, हाउस चल्न दिएको भए । जे जे नारा दिनु भएको छ पर्याप्त छ । अब त्यसको जवाफ सुन्नलाई हाउस चल्न दिनुपर्छ अनि मात्र उहाँहरुको एकोहोरो नाराको अर्थ हुन्छ ।’

उनले नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशनले पार्टीलाई अझ सक्रिय र अनुशासित रूपमा अगाडि बढाउन आम धारणा बनेको बताए । चुनावी परिणाम विभिन्न समूहको मिश्रित रूपमा आएको भन्दै उनले यसले पार्टीलाई समूहगत रूपमा पनि सन्तुलित राख्ने बताए ।

त्यस्तै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रतिपक्षले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधीन मुद्दा भएकाले संसदमा त्यसलाई विषय बनाउन नसकिने बताए । सर्वदलीय बैठक बसेर संसदको गतिरोधलाई निकास दिनुपर्नेमा उनले जोड दिए । सांसद कँडेलले संसदलाई अनिर्णयको बन्दी बनाउँदा मुलुकको हित नहुने बताए । प्रतिपक्षी दलले छलफलको माध्यमबाट निकास दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७