जन्मेको डेढ महिनामै सत्ता यात्रामा नेकपा (एस), को–को बन्दै छन् मन्त्री ?


२२ आश्विन २०७८, शुक्रबार
Madhav Nepald1629968864

काठमाडौं, २२ असोज । एमालेबाट विभाजित भएर माधवकुमार नेपालको अध्यक्षतामा गठित नेकपा (एकीकृत समाजवादी) ले आज (शुक्रबार) बाट औपचारिक रूपमा केन्द्रीय सत्ताको यात्रा शुरु गर्दैछ ।

नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन आयोगबाट दलको मान्यता पाएको डेढ महिना पनि नपुग्दै शुक्रबार सत्तारोहण गर्ने भएको हो । दल दर्ताका लागि गत भदौ २ गते आयोगमा निवेदन दर्ता गराएको नेकपा एकीकृत समाजवादीले भदौ ९ गते प्रमाणपत्र पाएको थियो ।

झण्डै दुई तिहाइ बहुमत पाएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन प्रमुख भूमिका खेलेका माधव नेपालको नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादी आज चार मन्त्रालयका साथ सत्तामा उक्लिँदै छ । नेकपा एसले ६–६ महिना गरी नेताहरूलाई मन्त्री बनाउने भएको छ । धेरै जना आकांक्षी देखिएपछि पार्टीले दुई चरणमा मन्त्री बनाउन लागेको हो । नेकपा एस स्रोतका अनुसार पहिलो चरणमा रामकुमारी झाँक्री, विरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ र प्रेम आलेलाई मन्त्री बनाउने तयारी छ ।

त्यस्तै ६ महिनापछि उनीहरूलाई फिर्ता बोलाएर मेटमणि चौधरी, भवानी खापुङ, शेरबहादुर कुँवर र जीवनराम श्रेष्ठलाई पठाइनेगरी सहमति हुने सम्भावना रहेको पार्टीले जनाएको छ । यसलाई अन्तिम रूप दिन शुक्रबार बिहान पार्टीको सचिवालय बैठक बस्दैछ । स्रोतका अनुसार रामकुमारी झाँक्रीलाई स्वास्थ्य, विरोध खतिवडालाई सहरी विकास, कृष्णकुमार श्रेष्ठलाई श्रम र प्रेम आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइने तयारी छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठको निर्णयअनुसार एकीकृत समाजवादीको भागमा स्वास्थ्य तथा जनसंख्या, श्रम तथा रोजगार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय जस्ता महत्वपूर्ण मन्त्रालय भाग लगाएको छ ।

यसका साथै एक राज्यमन्त्री पनि नेकपा (एस) पाउने भएको छ । राज्यमन्त्रीमा कसलाई पठाउने भन्नेबारेमा पनि सचिवालय बैठकले निर्णय गर्ने बताइएको छ । त्यस्तै नेकपा एसले प्रदेश १ र वाग्मतीमा मुख्यमन्त्री पनि पाउने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७