गोरखा दरबारको फूलपाती हनुमानढोका पठाइयो


२६ आश्विन २०७८, मंगलवार
phulpati 2 damI4V0gey

गोरखा, २६ असोज । गोरखाको गोरखकाली मन्दिरबाट काठमाडौंको हनुमानढोकामा रहेको दशैं घरमा फूलपाती पठाइएको छ । गए राति गोरखामा विधिपूर्वक सङ्कलन गरिएको फूलपाति आज बिहान बा २ झ २१२९ नम्बरको सरकारी मोटरमा राखेर हनुमानढोका पठाइएको हो ।

यो वर्ष गोरखा दरबार हेरचाह अड्डाका पुजारी कुलबहादुर थापा फूलपाती लिएर काठमाडौं गएका छन् । हनुमानढोकामा फूलपाती लैजानका लागि पुरातत्व विभागले काठमाडौंबाट मोटर पठाएको थियो । गएको वर्षहरुमा कोरोना सङ्कटका कारण संक्षिप्त रुपमा कार्यक्रम गरी फूलपाती पठाउने गरिएकोमा यो वर्ष भने बाजागाजासहित हर्षोल्लासका साथ फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले बताए ।

गोरखकाली मन्दिरको दशैं घरको फूलपाती काठमाडौंको हनुमानढोकामा रहेको दशैंघरमा पठाउने परम्परा करिब ४ सय वर्ष पुरानो रहेको उनको भनाइ छ । तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाडौं राज्य जितेपछि गोरखाबाट हनुमानढोका दशैंघरमा फूलपाती लैजाने परम्परा बसेको हो ।

उनले १८२५ सालमा काठमाडौंमा विजय प्राप्त गरेका थिए । त्यतिबेला गोरखा, धादिङ हुँदै हनुमानढोकामा फूलपाती लैजाने परम्परा रहेको थियो । तर जङ्गबहादुर राणाको उदयपछि फूलपातीको परम्परा बन्द भएको भुषालले बताए । काठमाडौं र गोरखालाई पृथ्वी राजमार्गले जोडेपछि भने मोटरमार्फत फूलपाती काठमाडौं पठाउने चलन शुरु भएको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७