दशैं भित्रियो, चामल आएन


२७ आश्विन २०७८, बुधबार
chamal
सांकेतिक तस्वीर

मुगु, २७ असोज । धेरैका लागि ऋणै गरेर भए पनि मीठो मसिनो खाने चाड हो दशैं । तर, मुगु, हुम्ला र डोल्पाका खाद्य गोदामहरू रित्तिएपछि हिमाली जिल्लाका दुर्गम गाउँमा दशैंमै खाद्यान्न अभाव भएको छ । खाद्य व्यवस्था, व्यापार तथा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको चामल ढुवानी नगर्दा खाद्य गोदाम रित्तिएका हुन् ।

मुगुमा चालु आर्थिक वर्षका लागि खाद्यान्न कोटा भने साउनमै स्वीकृत भएको थियो । तर समयमै ढुवानी नगरिँदा ग्रामीण भेगका चार वटा खाद्य डिपो र दुई बिक्री केन्द्र दुई महिनाभन्दा बढी समयदेखि रित्तै छन् । गमगढीस्थित मुख्य खाद्य गोदाममा गत आर्थिक वर्षको करिब ४ सय क्विन्टल चामल मौज्दात छ । तर विशेष अवस्थाका लागि चाहिन सक्ने भन्दै सदरमुकामबाट पनि खाद्यान्न वितरण रोकिएको छ । अहिले श्रीकोट, पुलु, सोरुकोट, कालै र रातापानी खाद्य डिपोमा चामल रित्तिएको कम्पनीले जनाएको छ ।

गाउँका खाद्य डिपो खाली भएपछि बजारको महँगो चामल किनेर खानु परेको मुगमकार्मारोङ गाउँपालिकास्थित पुलुका छेवाङछेजुङ लामाले बताए । ‘घण्टौं हिँडेर डिपोमा चामल लिन गयो, कहिल्यै पाइने होइन,’ उनले भने, ‘डिपोमा चामल नपाइएपछि दोब्बर महँगोमा बजारको चामल किन्नुपरेको छ ।’ उनका अनुसार सोरु र मुगुमकार्मारोङ गाउँपालिकामा खडेरीका कारण यो वर्ष गहुँ उत्पादन निकै कम भएको छ । अत्यधिक चिसो हुने भएकाले दुवै गाउँपालिकाका अधिकांश भागमा वर्षमा एक बाली मात्र फल्छ ।

खाद्य डिपोमा २५ केजी चामलको बोरा १५ सय रुपैयाँमा पाइने भए पनि व्यापारीसँग २ हजार रुपैयाँमा किन्नुपर्ने बाध्यता भएको सोरु गाउँपालिका–४ का चन्द्र नेपालीले बताए । ‘डिपोमा एक दाना चामल छैन,’ उनले भने, ‘ऋण काढेर भए पनि बजारको चामल किन्नु परेको छ ।’

दशैंमा पनि स्थानीयलाई सरकारी अनुदानको चामल पाउन गाह्रो भएको सोरु गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । ‘खाद्यान्नको चरम अभाव छ,’ उनले भने, ‘संघीय सरकारलाई पटक पटक आग्रह गरे पनि चामल पठाउन बेवास्ता भइरहेको छ ।’ चालु आर्थिक वर्षको नयाँ टेन्डर प्रक्रिया ढिलो हुँदा गोदामहरू रित्तिएको कम्पनीका निमित्त प्रमुख पुष्कर भामले बताए । ‘टेन्डरका फर्म काठमाडौं लिएर छानबिन गरी ठेक्का स्वीकृत गर्नुपर्ने भएकाले चामल ढुवानीमा ढिलाइ भएको हो,’ उनले भने, ‘टेन्डर स्वीकृत भएलगत्तै ढुवानीलाई तीव्रता दिइनेछ ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले डोल्पा सदरमुकाम दुनैबाटै समेत चामल बिक्री रोकेको छ । गोदाम रित्तै भएपछि चामल लिन आएका स्थानीयवासी रित्तोहात घर फर्कन बाध्य भएका हुन् ।

दशैंमा पनि कम्पनीको जुफाल, सर्मी र लिकु डिपो पनि रित्तै छन् । धो, साल्दाङ, ढारगाउँ र सहरतारा बिक्री केन्द्रमा साउनदेखि चामल आएको छैन । कम्पनीका डोल्पा शाखा प्रमुख कमलराज पाण्डेले गत आर्थिक वर्षको मौज्दात चामल सकिएकाले समस्या भएको बताए । उनका अनुसार चालु आर्थिक वर्षको चामल अझै आएको छैन । ‘स्थानीयहरू दैनिक चामल किन्न आइरहेका छन्,’ उनले भने, ‘तर चामल नभएपछि रित्तै फर्काउनु परेको छ ।’

चालु आर्थिक वर्षका लागि डोल्पामा २० हजार क्विन्टल चामलको ठेक्का लागेको छ । दशैंका लागि भन्दै सुर्खेतबाट ३ सय ६० क्विन्टल चामल दुनैका लागि पठाइए पनि त्यो चामल बाटोमै छ । ‘अब दसैं लाग्यो भनेर सम्बन्धित ढुवानी सेवाका प्रतिनिधिले चामल बाटोमा राखेर घर गइसके,’ उनले भने, ‘दसैंपछि त जसोतसो चामल आउला ।’ भएको चामल कारागारका कैदी र जन्म तथा मृत्यु संस्कारका लागि मात्र राखिएको उनले जनाए ।

कम्पनीका अनुसार नेपालगन्ज र सुर्खेतबाट ३ सय ६० क्विन्टल चामल डोल्पाका लागि पठाइएको चामल जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगर पुगेको छ । नेपालगन्जबाट नमुना ढुवानी र सुर्खेतबाट एञ्जिला ढुवानी सेवाले चामल ढुवानीको जिम्मा लिएका छन् । ठेक्का सम्झौता ढिला भएको र लामो समय पानी परेकाले समस्या भएको ढुवानी कम्पनीको दाबी छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७