देशभर भारी वर्षाको सम्भावना, होशियारी अपनाउन आग्रह


३१ आश्विन २०७८, आईतवार
raining

काठमाडौं, ३१ असोज । आज (आइतबार) बिहान प्रदेश–१, प्रदेश–२ र वागमती प्रदेशमा सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य वदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

‘काठमाडौंमा गए राति सामान्य वर्षा भयो । विहान भएपछि रोकिएको छ । आज दिउँसो पनि काठमाडौंमा सामान्य वर्षा हुने सम्भावना छ’, मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘आज देशका धेरै स्थानमा सामान्य हुनसक्छ । तर भारी वर्षाको सम्भावना भने छैन ।’

आज राति देशभर सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, प्रदेश–२ र वागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

सोमबार भने सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । मंगलबार पश्चिम नेपालसहित पूर्वी नेपालमा पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीको भनाइ छ ।

हाल भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेको विभागले जनाएको छ । मनसुन बाहिरिए पनि न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको प्रभावका कारण वर्षाको सम्भावना रहेको हो ।

केही ठाउँमा मेघगर्जन र चट्याङसहितको वर्षा हुने भएकाले खेतबारीमा काम गर्दा र यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ । अहिले देशका धेरै ठाउँमा धान पाकेकोले किसान बाली भित्र्याउन व्यस्त छन् । यस्तै, दशैंका लागि गाउँ घर गएकाहरु पनि काठमाडौं उपत्यका फर्किदै छन् । यात्रा गर्दा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न मौसमविद्को सुझाव छ ।

यस्तै, हिमाली जिल्लामा पनि वर्षासहित हिमपातको सम्भावना छ । आज भन्दा भोलि हिमाली जिल्लामा हिमपातको सम्भावना धेरै रहेको मौसमविद् गंगा नगरकोटीले बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७