बंगलादेशमाथि स्कटल्यान्डको जित


१ कार्तिक २०७८, सोमबार
bng1634519921

काठमाडौं, १ कातिक । स्कटल्यान्डले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत पहिलो चरणको खेलमा बंगलादेशमाथि जित निकालेको छ । आइतबार राति भएको खेलमा स्कटल्यान्डले बंगलादेशलाई ६ रनले हराएको हो ।

ओमानस्थित अल इमिरेट क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३४ बनायो । बंगलादेशका लागि मुस्तफिजुर रहमानले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै मोहमदगल्लाले २३ रन बनाउँदा आसिफ हुसेनले १८ रन बनाए । बंगलादेशका साकिव अल हसनले २० रनको योगदान गरे ।

बलिङतर्फ स्कटल्यान्डका लागि बार्ड होयलले सर्वाधिक ३ विकेट लिए । त्यस्तै क्रिस ग्रेभासले २ विकेट लिँदा जोस डेभे र मार्क वटले समान एक–एक विकेट लिए । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो ।

स्कटल्यान्डका लागि कारिस गेभेसले सर्वाधिक ४५ रनको योगदान गरे । २८ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै गेरोर्ग मुन्सेले २९ रन बनाउँदा मार्क वाटले २२ रनको योगदान गरे । स्कटल्यान्डका लागि माथे क्रसले ११ रन बनाउँदा बाँकी ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ बंगलादेशका लागि मेहदी हसनले सर्वाधिक ३ विकेट लिए । त्यस्तै मुस्तफिजुर रहमान र साकिव अल हसनले समान दुई–दुई विकेट लिए । बंगलादेशका लागि टाकिन अहमेद र मोहामा साफुदिनले समान एक–एक विकेट लिए । जितसँगै समूह ‘बी’ मा रहेको स्कटल्यान्डले २ अंक जोडेको छ । पराजित बंगलादेशले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७