प्रधानमन्त्री भोलि बाढी प्रभावित सुदूरपश्चिम जाने


३ कार्तिक २०७८, बुधबार
sherbahadur deuwa scaled

काठमाडौं, ३ कातिक । प्रधानमन्त्री शेरबहादुर देउवाभोलि (बिहीबार) गृह प्रदेश सुदूरपश्चिममा बाढी पहिरोले पुर्‍याएको क्षति निरीक्षणका लागि जाने भएका छन् ।

उनी एक मन्त्री र तीन पूर्वमन्त्रीका साथ गृह प्रदेशमा बाढी पहिरोले पुर्‍याएको क्षतिको निरीक्षणमा जाने भएका हुन् । नेपाली कांग्रेसका नेता एनपी साउदसँग बुधबार अपराह्न भएको सरसल्लाहका क्रममा उनले बिहीबार बिहान सुदूरपश्चिमको क्षति निरीक्षणका लागि जाने तय गरेका हुन् ।

यसअघि बुधबार दिउँसो कांग्रेसकै अर्का नेता रमेश लेखकसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले सुदूरपश्चिम निरीक्षणका लागि जाने इच्छा देखाएका थिए । प्रधानमन्त्री देउवालाई सुदूरपश्चिममा बाढी पहिरोले पुर्‍याएको क्षतिबारे ‘ब्रिफिङ’ गरिसकेपछि नेता लेखकले भनेका थिए, ‘क्याविनेट अगाडि मलाई बोलाउनु भएको थियो । मैले सुदूरपश्चिमको बाढी पहिरोपछिको वस्तुस्थिति, क्षतिबारेमा ब्रिफिङ गरें । प्रधानमन्त्री गम्भीर देखिनुहुन्छ । सुदूरपश्चिम निरीक्षणमा जाने सोचिरहनु भएको छ ।’

तर, नेता साउदसँग सुदूरपश्चिममा पुगेको क्षतिबारे ‘बिफ्रिङ’ लिइसकेपछि प्रधानमन्त्री देउवाले बिहीबार नै निरीक्षणमा जाने बताएका हुन् । नेता साउदका अनुसार प्रधानमन्त्री देउवा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई लिएर सुदूरपश्चिम जाँदै छन् ।

प्रधानमन्त्रीको उक्त टोलीमा कांग्रेस केन्द्रीय सदस्यहरु साउद, लेखक र वीरबहादुर बलायर पनि रहने जनाइएको छ । टोली काठमाडौंबाट सोझै कुन जिल्ला जाने भन्ने बारेमा भने तय भइनसकेको नेता साउदले बताएका छन् । उनले छलफलका क्रममा आफूले प्रधानमन्त्रीलाई नदी किनारका बस्तीहरु जोखिममा रहेका, पहाडी जिल्लाहरुमा पहिरोको उच्च जोखिम रहेको, सडक सञ्जाल भताभुंग भएको, विद्युत–टेलिफोन सेवा अवरुद्ध भएकोबारे ‘ब्रिफिङ’ गरेको बताए ।

‘सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरका किसनाहरुले धानको एकतिहाइ खेतबाट घर ल्याउन सकेका छैनन् । कतै धान बगाएको छ भने कतै डुबाएको छ । यसका बारेमा मैले प्रधानमन्त्रीलाई अवगत गराएको छु,’ नेता साउदले सुनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७