प्रदेश–२ मा विश्वविद्यालयसम्बन्धी दुई अध्यादेश ल्याइँदै


९ कार्तिक २०७८, मंगलवार
pradesh 2 mantriparisad11635227578

जनकपुरधाम, ९ कात्तिक । प्रदेश नम्बर–२ सरकारले विश्वविद्यालय स्थापनासम्बन्धी दुई अध्यादेश ल्याउने तयारी गरेको छ । आज बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दुई वटा अध्यादेश प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले वीरगन्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरीमा स्थापना गर्नेसम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार संविधानको धारा २०२ बमोजिम प्रदेशसभा सञ्चालनमा नरहेको अवस्थामा अध्यादेश सिफारिस गरिएको छ ।

प्रदेश प्रमुखबाट अध्यादेश जारी भएलगत्तै दुवै विश्वविद्यालय स्थापनाको बाटो खुल्ने छ । जनकपुरधाममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी सञ्चालनमा ल्याइसकेको प्रदेश सरकारले राजविराजमा कृषि विश्वविद्यालय र वीरगन्जमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेको हो ।

यसैगरी, प्रदेश सरकारले ‘ग्रिन सिटी, क्लिन सिटी’अन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र वीरगन्जमा सरसफाइ, बिजुली बत्ती तथा वृक्षरोपण कार्य सञ्चालन गर्ने निर्णय गरिएको छ । प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणका कार्यको स्थलगत निरीक्षण गर्ने र ढिलासुस्ती एवं गुणस्तरहीन काम गरेको पाइए त्यस्ता ठेकेदार कम्पनीको बैंक ग्यारेन्टी जफतदेखि कालोसूचीमा राख्नेसम्मको कारबाही प्रक्रिया अघि बढाउने निर्णय समेत गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७