देउवा–मोदी भेट ४ वर्षपछि ग्लास्गोमा

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग पनि भेटवार्ता हुने


११ कार्तिक २०७८, बिहीबार
thumb 17

काठमाडौं, ११ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अर्को साता स्कटल्यान्डको ग्लास्गो सहरमा भेटवार्ता गर्ने भएका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) का क्रममा हुने ‘साइडलाइन’ वार्तामा देउवा र मोदीबीच भेट हुन लागेको हो ।

साइडलाइन वार्ताका लागि नेपालले गरेको आग्रह भारतले बुधबार स्वीकार गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । कोप–२६ यही कात्तिक १२–२६ मा हुँदै छ । प्रधानमन्त्री देउवा भने १३ गते गएर १७ गते फर्कने छन् ।

चौथो पटक प्रधानमन्त्री भएपछि देउवाले २०७४ भदौमा भारत भ्रमण गर्दा भएको मोदीसँगको भेट नै पछिल्लो हो । पाँचौं पटक प्रधानमन्त्री भएका देउवालाई एक महिनापछि गत साउन ३ मा संसद्बाट विश्वासको मत लिएपछि मात्र मोदीले फोन गरेर बधाई दिएका थिए

कूटनीतिज्ञ एवं देउवा चौथो पटक प्रधानमन्त्री हुँदाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले दुई पक्षीय भेट महत्त्वपूर्ण हुने र यसले सहकार्य गर्न सघाउने बताए । नेपालका प्रायः प्रधानमन्त्रीले जिम्मेवारी सम्हालेपछि पहिलो विदेश भ्रमण भारतको गर्दै आएका छन् । देउवा पाँचौंपल्ट प्रधानमन्त्री भएपछिको पहिलो विदेश भ्रमण स्कटल्यान्डको हुन लागेको हो । पुष्पकमल दाहालले १३ वर्षअघि पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण चीनको गरेका थिए ।

दाहाल त्यति बेला ओलम्पिक समापन समारोहमा सहभागी हुन बेइजिङ गएका थिए । भारतले नेपालमा नयाँ प्रधानमन्त्री बन्नासाथ राजकीय भ्रमणको निम्तो दिने गरेकामा दुई दशकयता झलनाथ खनाल र सुशील कोइरालाले मात्र त्यस्तो निमन्त्रणा पाएका थिएनन् ।
छुट्टै राजकीय भ्रमण नगरे पनि कोइराला भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहका लागि भने भारत गएका थिए । देउवाले ग्लास्गोमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग भेट्ने कार्यक्रम छ । उनले मोदी र जोन्सनसँग कात्तिक १५ वा १६ गते भेट्ने जनाइएको छ ।
देउवाको मोदीसँग सम्बन्ध सुधार प्रयास

कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाको भारतसँग सम्बन्ध त्यति सुमधुर देखिएको छैन । यसअघि केपी शर्मा ओलीले सरकारले ‘चुच्चे नक्सा’ जारी गर्दा होस् वा भारतविरुद्ध टीकाटिप्पणी गर्दा, त्यति बेला प्रमुख प्रतिपक्षी दलको नेता रहेका देउवाले विरोध गरेका थिएनन् ।
त्यही कारण भारत देउवाप्रति असन्तुष्ट रहेको कूटनीतिक अधिकारीहरू बताउँछन् । असन्तुष्टिकै कारण गत असार २९ मा देउवा प्रधानमन्त्री हुँदासमेत मोदीले तत्काल बधाई दिएनन् । एक महिनापछि संसद्बाट विश्वासको मत लिएपछि मात्र मोदीले देउवालाई फोन गरेर बधाई दिए ।

कांग्रेसको १४ औं महाधिवेशनबाट फेरि सभापति बन्ने दाउमा रहेका देउवा भने मोदीसँग सम्बन्ध बढाउन चाहन्छन् । कांग्रेस महाधिवेशनमा मोदीको अप्रत्यक्ष भूमिका हुन्छ भन्ने पार्टीका नेताहरूकै निचोड छ । त्यसैले मोदीलाई भेट्ने भएपछि देउवा ग्लास्गो जान लागेका हुन् ।
उनले यूएनको ७६ औं महासभा र असंलग्न अभियानको ६० औं वर्षको उपलक्ष्यमा सर्बियामा भने नजाने निर्णय गरेका थिए । ‘मोदीलाई कोपको साइडलाइन वार्तामा भेटेर सम्बन्ध सुधार गर्ने पक्षमा देउवा छन्,’ कांग्रेसका एक नेताले भने ।

देउवाले मोदीसँग सम्बन्ध सुधार गर्नकै लागि पार्टीका सहमहामन्त्री प्रकाशशरण महतमार्फत निम्तो दिएर भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई भदौ ७–११ मा नेपाल भ्रमण गराएका थिए । त्यसको एक महिनापछि असोज २१–२५ मा चौथाइवालेको निमन्त्रणामा महतको नेतृत्वमा उदयशमशेर राणा र अजयकुमार चौरसिया सम्मिलित कांग्रेसको टोलीले भारत भ्रमण गरेको थियो ।

भ्रमणमा कांग्रेसको टोलीले भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, राष्ट्रिय महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख चौथाइवाले र प्रचार विभागका पदाधिकारीहरूसहित उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेको थियो । उक्त टोलीले धार्मिक स्थल वाराणसीको समेत भ्रमण गरेको थियो । कांग्रेस स्रोतका अनुसार उक्त भ्रमणबाट चाहेजस्तो उपलब्धि हात नपरेपछि देउवा मोदीलाई आफैं भेटेर दुईपक्षीय सम्बन्ध मजबुत बनाउने तयारीमा लागेका हुन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७