अमेरिकाले नेपाललाई दियो एक लाख बढी फाइजर खोप


१२ कार्तिक २०७८, शुक्रबार
unnamed 11635476629

काठमाडौं, १२ कात्तिक । अमेरिकी सरकारले नेपाललाई कोभिड–१९ विरुद्ध लड्न एक लाख ६२० मात्रा (डोज) फाइजर खोप अनुदानस्वरूप उपलब्ध गराएको छ ।

यो खोप प्रदान गर्नुअघि अमेरिकाले नेपाललाई गत असारमा एक मात्रा लगाए पुग्ने १५ लाख ३० हजार मात्राको जोन्सन एन्ड जोन्सन खोप अनुदानस्वरूप उपलब्ध गराएको थियो । यस्तै १२ करोड २० लाख डलरभन्दा बढीको सहायता जीवन रक्षा गर्ने स्वास्थ्य सामग्री, तालिम र प्राविधिक सहयोगको स्वरूपमा नेपाललाई प्रदान गरेको थियो । महामारीको समयमा नेपाललाई जारी सहयोगको हिस्सास्वरूप अमेरिकाले खोप निःशुल्क र पूर्व शर्त बिना अनुदानस्वरूप प्रदान गरेको हो ।

यसका अतिरिक्त अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) र उसका साझेदारहरूले अत्यन्त न्यून तापक्रमका फ्रिजर, वाक–इन फ्रिजर, वाक–इन कोल्ड रूम, फ्रिजर भ्यान, क्रायोजेनिक पन्जा र चश्मा उपलब्ध गराउनुका साथै स्वास्थ्यकर्मीहरूलाई तालिम दिएर नेपाललाई फाइजर खोपको यस किस्ताका लागि तयारी गर्न मद्दत गरेका छन् । यसको फलस्वरूप थप खोप प्राप्त गर्ने दिशामा नेपालका विकल्प र क्षमतालाई बल पुग्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा युएसएआईडी नेपालका निर्देशक सेपिडे केभान्शाडले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई खोप हस्तान्तरण गरे । युनिसेफमार्फत खरिद गरी टेकुस्थित स्वास्थ्य सेवा विभागमा राखिएका चार थान अत्यन्त न्यून तापक्रमका फ्रिजरमा पछिको समयमा बाँकी मुलुकमा खोप वितरण गर्ने बेला नभएसम्मका लागि उक्त खोप भण्डारण गरिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७