एमाले केन्द्रीय कमिटी बैठक : महाधिवेशनको विषयमा छलफल केन्द्रित


१२ कार्तिक २०७८, शुक्रबार
uml

काठमाडौं, १२ कात्तिक । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चलिरहेको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा राष्ट्रिय महाधिवेशनको विषयमा छलफल केन्द्रित भइरहेको छ ।

बैठकमा वडा तथा पालिका अधिवेशनको समीक्षा, राष्ट्रिय महाधिवेशन, स्थायी कमिटी बैठकले तय गरेको महाधिवेशन प्रतिनिधि मापदण्ड र संख्याको विषय र समसामयिक एजेण्डामा केन्द्रित रहेर छलफल हुनेछ ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले १० औं राष्ट्रिय महाधिवेशनमा १,५३६ प्रतिनिधि बनाउने निर्णय गरेको थियो । जसमा ५१ प्रतिशत समावेशी र ४९ प्रतिशत खुलाबाट चयन हुनेछन् । केन्द्रीय कमिटीले यसबारे थप निर्णय गर्नेछ । महाधिवेशनका लागि ३३ प्रतिशत महिलासहित जनजाति, थारू, मधेसी, मुस्लिम, पिछडिएको वर्ग, दलितलगायत ‘क्लस्टर’का आधारमा प्रतिनिधित्व गर्ने व्यवस्था गरिएको छ ।

केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग तथा केन्द्रीय सल्लाहकारबाट निश्चित पदेन प्रतिनिधि हुनेछन् । भूगोलबाट १,१९६ जना आउने छन् ।

एक हजार ५ सय सदस्य रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १ महिला र २ खुलासहित ३ र १ हजार सदस्यबाट १ जना प्रतिनिधि थपिने छन् । प्रत्येक जिल्लाबाट १-१ दलित, प्रत्येक प्रदेश कमिटीबाट मजदुर १ जना प्रतिनिधि हुनेछन् । जनसंगठनबाट ५-५, केन्द्रीय विभाग-निकायलाई एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र मानेर तीन प्रतिनिधि छनोट गर्ने व्यवस्था एमालेले गरेको छ । त्यस्तै प्रवासबाट २०, पदेन प्रतिनिधि २ सय ६२ हुनेछन्। १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने व्यवस्था गरिएको छ ।

विधान महाधिवेशनमा करिब ६ हजार प्रतिनिधि थिए । अबको महाधिवेशन चितवनस्थित नारायणी नदी किनारामा र बन्दसत्र सौराहामा गरिने तय भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७