छोराछोरीकै अगाडि सामुहिक बलात्कार


१३ कार्तिक २०७८, शनिबार
Rape for nayapage

म्याग्दी, १३ कात्तिक । म्याग्दीको बेनी–५ की एक २५ वर्षीया महिला छोराछोरीकै आगाडि सामुहिक बलात्कारको शिकार भएकी छिन् ।
उनले छोराछोरीसहित घरमै सुतिरहेका बेला आफू बलात्कृत भएको बताएकी छन् । कात्तिक २ गते राति १२ बजेतिर झ्यालबाट छिरेका तीन युवकले बलात्कार गरेको ती महिलाले बताएकी छिन् । आरोपित तीनै युवक अहिले फरार छन् ।

पीडित महिलाका अनुसार राति स्थानीय हिक्मत बानियाँ, प्रवेश विक र प्रकाश विकले ढोका ढकढक्याउँदै बोलाए । उनले ढोका खोलिनन् । एक्कासी झ्याल फोडेर भित्र पसे । मदिराले लट्ठ ती युवकले छोराछोरीलाई कुटपिट गरे । ‘छोराको मुखमा सिरक राखेर उठ्न दिएनन्,’ उनले सुनाइन्, ‘मलाई अँठ्याएर पालैपालो बलात्कार गरे । होहल्ला गरे घरसँगै सबैलाई जलाएर मार्ने धम्की दिए ।’

घटना लगत्तै प्रहरीलाई खबर गरे पनि नआएको उनले बताएकी छिन् । बलात्कारमा संलग्न प्रवेश र प्रकाश दशैं मान्न शहरबाट गाउँ फर्किएका थिए । पीडित महिलाका श्रीमान् विदेशमा छन् । घटना सार्वजनिक भएपछि आरोपित बानियाँका बुबासहित अन्यले एक लाख रुपैयाँ दिएर घटना गुपचुप राख्न दबाब दिएको पीडित महिलाले बताएकी छिन् ।

विभिन्न प्रलोभन, डर, धाक, धम्की दिइए पनि पर्सीपल्ट कात्तिक ४ मा ती महिलाले जिल्ला प्रहरी कार्यालय पुगेर तीन जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । त्यसपछि मात्रै प्रहरी घटनास्थल पुगेको थियो । त्यतिबेलासम्म घटनामा संलग्न तीन जना नै मोबाइल बन्द गरेर फरार भइसकेका थिए ।

जाहेरी परेको एक साताभन्दा बढी भइसक्दा समेत प्रहरीले आरोपितको खोजीमा चासो नदिएको पीडित महिलाको आरोप छ । ‘सयौं दबाब र प्रलोभन झेल्दै किटानी जाहेरी दिएकी हुँ,’ पीडित महिलाले भनिन्, ‘अहिले पनि बयान फेर्न दबाब आइरहेको छ ।’ गाउँ फर्केर जान सक्ने अवस्था नरहेकाले उनलाई बेनीस्थित हिंसापीडित आश्रममा राखिएको छ । जिल्ला प्रहरी प्रमुख श्यामकुमार राईले फरार आरोपितको खोजी भइरहेको बताएका छन् । ‘पीडित पक्षलाई दबाब आइरहेको भन्ने सुनेका छौं,’ उनले भने, ‘बलात्कार जस्तो अपराधमा संलग्नलाई उम्कन दिंदैनौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७