प्रदेश–१ का मुख्यमन्त्री आचार्यले राजीनामा दिने


१५ कार्तिक २०७८, सोमबार
bhim acharya 900

मोरङ, १५ कात्तिक । प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज (सोमबार) बस्ने प्रदेशसभा बैठकमा राजीनामा दिने भएका छन् । प्रदेशसभाको बैठक दिउँसो १२ः३० बजे बस्न लागेको छ ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले सरकारले गरेका कामबारे जानकारी गराएर राजीनामा दिने तयारी गरेका हुन् । एमालेका सांसद एवं पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने तयारीमा नै रहेको तर विश्वासको मत नपाउने अवस्थामा प्रदेशसभा बैठकमा राजीनामा दिने बताएका छन् । एमालेले गठबन्धन दल जसरी प्रदेश सांसदहरुलाई बन्धक बनाएर राख्न सक्दैन । त्यसैले विश्वासको मत नपाउने अवस्थामा विकल्प खोज्नुको विकल्प नरहने उनको भनाई थियो ।

विपक्षी गठबन्धन प्रमुख प्रतिपक्षी दल कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सबै प्रदेश सांसदहरुलाई विराटनगरस्थित बिग होटलमा आइतबार बेलुकादेखि नै राखिएको छ । मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्न प्रदेश सांसदहरुलाई अनेक प्रलोभन देखाएर प्रभावमा पार्न सक्ने सम्भावित जोखिमलाई दृष्टिगत गरेर गठबन्धन दलले सबै प्रदेश सांसदलाई एकै ठाउँ भेला गरेर राखेका हुन् ।

बैठकका लागि मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकमा कात्तिक ५ गते विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथि छलफल गरी मत विभाजन प्रक्रियाद्वारा टुंग्याउने कार्यसूची तय गरिएको छ । कांग्रेस पार्टीभित्रको अन्तरविरोधले प्रदेश–१ सभाको बैठक कात्तिक ७ गते सूचना टाँसेर कार्तिक १५ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रदेश–१ का विपक्षी पाँच दलीय गठबन्धनले मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा पेस गरेको विश्वासको प्रस्तावविरुद्ध मतदान गर्ने भएको छ । विपक्षी गठबन्धनको आइतबार बसेको बैठकले मुख्यमन्त्री आचार्यले राखेको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सोमबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको प्रस्तावको विपक्षमा गठबन्धनका सबै प्रदेश सांसदले मतदान गर्ने र दलीय गठबन्धनको संस्कारलाई अझै बलियो बनाएर अघि बढ्ने दुई बुँदे निर्णय गरेको बताए ।

प्रमुख सचेतक कार्कीले आलोपालो नेतृत्वको विषयमा पार्टीभित्र संघर्ष गरिरहेको र अहिले तत्काल केन्द्रीय गठबन्धनले गरेको निर्णय अनुसार एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धनको सरकार गठन गर्ने तयारी रहेको बताए ।

एकीकृत समाजवादीका नेता राईले पाँच दलीय गठबन्धनको आइतबारको बैठकले सोमबार मुख्यमन्त्री आचार्यले राखेको विश्वासको प्रस्ताव विफल बनाएर आफ्नो नेतृत्वमा सरकारमा जाने निश्चित भएको बताए । ‘आलोपालो नेतृत्व गठबन्धनभित्र प्रवेश पाएकोले त्यो छलफल हुँदै जान्छ । तर अहिले एकीकृत समाजवादीको नेतृत्वमा नै सरकार गठन गरेर अघि बढ्ने गठबन्धनले निर्णय गरेका छौं,’ उनले भने, ‘यसमा अब कुनै दुविधा रहेन ।’

मुख्यमन्त्री आचार्यविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गठबन्धन बनाएका छन् । मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक हुन्छ ।

९२ सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १-१ जना प्रदेश सांसद छन् । एमालेका प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७