लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा : प्रकाशमान सिंह


१८ कार्तिक २०७८, बिहीबार
Prakashman Singh 12khari1632557518

भक्तपुर, १८ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताएका छन् । नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले देशमा लोकतन्त्र जोगाउनका लागि कांग्रेस पार्टीमा विधि पद्दति जोगाउन भने जरुरी रहेको बताए ।

नेता सिंहले लोकतान्त्रिक पार्टीमा नेतृत्वले अलोकतान्त्रिक गतिविधि गर्दा पार्टी कमजोर भएको उल्लेख गर्दै अवसर दिएर पनि काम नगर्नेकाबारे अब आम कार्यकर्ताले सोच्नुपर्ने बेला आएको बताए । व्यक्तिपछि लाग्नु नै हाम्रो दुर्भाग्यपूर्ण अवस्था रह्यो भन्दै उनले कांग्रेस कमजोर भएकै कारणले कम्युनिष्टले गत निर्वाचनमा राम्रो भोट ल्याएको बताए ।

नेता सिंहले आसन्न महाधिवेशनमा सही नेतृत्व चयन गरेर मुलुक निमार्णमा लाग्नुपर्ने बताउँदै पार्टी राम्रो बनाउन र अस्तित्व जोगाउन नेतृत्व परिवर्तनको आवश्यकता रहेको उल्लेख गरे । सरकारले कोरोना खोपको व्यवस्थापन अझै राम्रोसँग गर्नुपर्नेमा जोड दिँदै उनले चाडपर्वको बीचमा भइरहेको इन्धन तथा अन्य क्षेत्रको महँगीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र घमण्डका कारण पार्टी मिलाउन नसक्दा आफै फसेको नेता सिंहले टिप्पणी गरे ।

कार्यक्रममा कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा, पूर्व सभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका सभापति हरिदाश प्रजापतिलगायतले विगत जस्तै कांग्रेसको भविष्य पनि उज्यालो रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७