ओलीले भने, ‘प्रचण्डले भन्दा २५ वर्षअघि गणतन्त्रको नारा लगाएको थिएँ’

‘कुरुक्षेत्र बनाउने धाक लगाएका छन्, कसलाई तर्साएको ?’


१८ कार्तिक २०७८, बिहीबार
kpolinew123 4IF0qTfKdZ

भक्तपुर, १८ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा हुँदा आफूहरुले असाधारण काम गरेको दावी गरेका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘हामीले विकासका काम थुप्रै गर्‍यौं । मोटरेबल पुल, चौडा पक्कीबाटो निर्माण गरेका छौं । हुलाकी राजमार्ग पूर्वदेखि पश्चिमसम्म नयाँ ढंगले बनायौं ।’

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भन्दा २५ वर्ष अघि आफूले गणतन्त्रको कुरा उठाएको ओलीको दावी गरे । ‘केही तत्वहरू अनेक प्रकारका झुठा, भ्रमपूर्ण कुरा फैलाइरहेका छन्,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डतर्फ लक्षित गर्दै ओलीले भने, ‘कुरु क्षेत्र बनाउने भनेर धाक लगाएका छन् कसलाई तर्साएको ? नेपाल अब धर्म क्षेत्र हुन्छ । शान्ति क्षेत्र बन्छ । कुरु क्षेत्रको धाक नलगाए हुन्छ । हामीलाई देश बनाउनेसंग सरोकार छ ।’ यसअघि माओवादी केन्द्रले चितवनको भरतपुरमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले राजनीतिक टक्कर र लडाइँले चितवन कुरुक्षेत्र बन्दै गएको टिप्पणी गरेका थिए ।

आफ्नो पार्टी राष्ट्र निर्माणको अभियानमा लागेको ओलीको भनाइ थियो । फरक प्रसङ्गमा ओलीले भने, ‘पूर्वजहरुप्रति गर्व गर्नुपर्छ । उहाँहरुले संस्कृति र सभ्यताको सिर्जना गर्नुभयो । नेपाली भूमिबाट थुप्रै कुराको शुरुवात भएको छ । हाम्रो संस्कृति र पुरानो गौरबको संरक्षण र प्रवद्र्धन गर्न जरुरी छ । ’ कार्यक्रममा ओलीले माटाको पाला बनाएका थिए ।

मध्यपुर थिमी नगरपालिकाले प्रकाशन गरेको ‘गन्तव्य मध्यपुर थिमी’ नामक पुस्तकको विमोचन गर्दै ओलीले भने, ‘मैले माटाको पाला बनाए । अर्को दिपावलीमा यो पाला प्रयोगमा ल्याउँछु । माटाका कुरा सबैभन्दा बलिया हुन्छन् । माटो धेरै पकायो ढुंगा भन्दा कडा हुन सक्छ ।’ उनले भक्तपुर एउटा जिवित संग्रहालय भएको बताएका छन् । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेर हरेक क्षेत्रबाट विकासका आयामहरु फैलाउने ओलीको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७