महाधिवेशनबारे छलफल गर्न देउवा–पौडेलकाे आफू पक्षीय छुट्टाछुट्टै बैठक


२५ कार्तिक २०७८, बिहीबार
Congress Sher bahadur deuwa ramchandra paudel

काठमाडौं, २५ कात्तिक । कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षका नेताहरुको छुट्टाछुट्टै वैठक बोलाएका छन् । प्रधानमन्त्री समेत रहेका कांग्रेका सभापति देउवाले पार्टीको आसन्न महाधिवेशनको तयारी र रणनीतिबारे छलफल गर्न भन्दै आज (बिहीबार) आफू निकट नेताहरुको बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । बैठक अहिले चलिरहेको बालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महतलगायत नेताहरुलाई बोलाइएको छ । प्रधानमन्त्रीको सचिवालयले केही दिनदेखि नेताहरुसँग छलफल चल्दै आएको जनाएको छ । आजै वरिष्ठ नेता पौडेलले पनि आफू पक्षीय केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् । शुक्रबार दिउँसो २ः३० बजे सुनधारास्थित दियालो होटलमा पौडेलले आफूपक्षीय केन्द्रीय सदस्यको बैठक बोलाएका हुन् ।

कात्तिक २८ गते (आइतबार) बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा समूहगत साझा धारणा तय गर्न पौडेलले बैठक बोलाएको एक नेताले जानकारी दिए । २८ गतेको बैठकमा महाधिवेशन तयारी, पार्टीका विभिन्न तहमा भएका अधिवेशनको समीक्षालगायतका विषयमा छलफल गर्ने एजेण्डा छ ।
बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक समिति गठन पनि गर्ने काँग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार काँग्रेसले १४ औं महाधिवेशन काठमाडौं भृकुटीमण्डपमा मंसिर २४ देखि तीन दिनसम्मका लागि हल बुकिङ गरिसकेको छ । मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन हुनेछ ।

लामो समयपछि केन्द्रीय समिति बैठक बसेकाले समसामयिक राजनीतिबारे पनि छलफल हुने पौडेलको भनाइ छ । न्यायालयको विवाद, उच्चस्तरीय समन्वय समिति गठन लगायतका विषयमा पनि छलफल हुने छ । सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले वरिष्ठ नेता पौडेलको संयोजकत्वमा ११ सदस्यीय समन्वय समिति बनाएको छ । तर उक्त समिति गठनप्रति काँग्रेस नेताहरुकै असन्तुष्टि रहेको छ । आइतबार बस्ने केन्द्रीय कार्यसमितिबाट काँग्रेसले उक्त निर्णय अनुमोदन गराउने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७