आइतबारदेखि यी २४ अस्पतालबाट फाइजरको खोप लगाइँदै, क–कसले लगाउने ?


२६ कार्तिक २०७८, शुक्रबार
1692302937484053

काठमाडौं, २६ कात्तिक । सरकारले आइतबारदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ । आज (शुक्रबार) फाइजर–बायोएनटेक प्रयोग गरी सञ्चालन हुने कोभिड–१९ खोप अभियानबारे अन्तरक्रिया कार्यक्रममा कोरोनाविरुद्धको फाइजर–बायोएनटेक खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो ।

यो खोपको पहिलो मात्रा कात्तिक २८ देखि मंसिर ४ गतेसम्म सरकारले तोकेका देशभरका विभिन्न २४ अस्पतालमा उपलब्ध हुने जनाइएको छ । खोप बाँकी भएमा मंसिर ५ देखि ७ गतेसम्म खोप लगाउन बाँकी रहेका दीर्घरोगीहरूलाई प्राथमिकतामा राखी र १२–१७ उमेर समूहकालाई लगाइनेछ । खोपको दोस्रो मात्रा पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि अर्थात् मंसिर २७ देखि पुस २ गतेसम्म दिइने स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जानकारी दिएको छ ।

KHOP 6unX0H7C7B

यो खोप १२ वर्षभन्दा माथिको जनसंख्यालाई मात्र दिन मिल्ने भएकाले त्यही उमेर समूहलाई मात्र लगाइने वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले बताए । उनले यो खोप १२ वर्षमाथिका दीर्घरोगीहरूलाई पहिलो प्राथमिकतामा राखेर दिइने पनि बताए । प्रशासक दाहालले १२ वर्षमाथिका आठ प्रकारका दीर्घ रोगका बिरामीहरूलाई यो खोप दिइने बताए ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक दाहालले भने, ‘फाइजर–बायोएनटेक खोप १२ वर्षदेखि माथिको जनसंख्यालाई दिन मिल्ने भएकाले १२–१७ वर्षका व्यक्तिहरूलाई खोप दिइन्छ, यसको पहिलो मात्रा कात्तिक २८ देखि मंसिर ४ गतेसम्म तोकिएका दीर्घरोगीहरूका लागि र खोप बाँकी भएमा मंसिर ५ देखि ७ गतेसम्म खोप लगाउन बाँकी रहेका दीर्घरोगीहरूलाई प्राथमिकतामा राखी १२–१७ उमेर समूहका व्यक्तिहरूलाई लगाइनेछ । खोपको दोस्रो मात्रा पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि अर्थात् मंसिर २७ देखि पुस २ गतेसम्म दिइनेछ ।
कसले लगाउन मिल्दैन यो खोप?
फाइजर खोप सबैले लगाउन मिल्दैन । यो खोप लगाउन नहुने विभिन्न अवस्थाहरु छन् ।
– कोभिड १९ विरुद्धको अन्य कुनै खोप लगाएको ।
– १२ वर्ष भन्दा कम उमेरको व्यक्ति ।
– खोप खोपको पहिलो मात्रा लगाएपछि कुनै पनि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया भए ।
यो सँगै इम्युनोग्लोबिन, मोनोकोनल एन्टीबडीज, कन्भेल्सेन्ट प्लाज्मा उपचारमा भएको व्यक्तिले यो खोप लगाउन हुँदैन । तर यस प्रकारको उपचार लिएको ९० दिनपछि भने खोप लगाउन मिल्ने महाशाखाले जनाएको छ ।

कोभिड १९ संक्रमित भएको अवस्थामा यो खोप लगाउन नभए पनि निको भएको ३० दिनपछि यो खोप लगाउन मिल्छ । कुनै पनि प्रकारको गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको अवस्थामा यो खोप लगाउन हुँदैन । तर यस प्रकारको अवस्था ठीक भएपछि भने खोप लगाउन मिल्छ ।

फाइजर खोप लगाएपछि हुन सक्ने सामान्य असरहरुः
– सुई लगाएको ठाउँमा दुख्ने, हल्का रातो हुने र सुन्निने ।
– टाउको दुख्ने, जाडो हुने र ज्वरो आउने ।
– मासंपेशी तथा जोर्नीहरु दुख्ने ।
– खान मन नलाग्ने र वाकवाकी लाग्ने ।
– थकाई लाग्ने ।
– सुई लगाएको हातको काखीको ग्रन्थी सुन्निने र दुख्ने ।

यी सामान्य असरहरु २-३ दिनपछि आफै ठिक भएर जाने चिकित्सकले जनाएका छन् । ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने भएमा सिटामोल औषधि खाएपछि ठिक हुने उनीहरुले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७