कांग्रेस महाधिवेशन प्रक्रिया आजदेखि पुनः अघि बढ्दै


२७ कार्तिक २०७८, शनिबार
congress

काठमाडौं, २७ कात्तिक । चाडबाडका कारण बीचमा रोकिएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया पुनः अगाडि बढ्ने भएको छ । दसैं, तिहार, नेपाल संवत् र छठ पर्वका कारण स्थगित कांग्रेसको महाधिवेशन प्रक्रिया शनिबार शुरु गर्न लागिएको हो ।

कांग्रेसले ६४ जिल्लाहरुमा यसअघि नै अधिवेशन प्रक्रिया शुरु गरेको थियो । जसमध्ये तराई र पहाडका जिल्लाहरुमा वडा र गाउँ /नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् । ५१ जिल्लाहरुमा वडा र स्थानीय तहको अधिवेशन कांग्रेसले सम्पन्न गरिसकेको छ । हिमालका १३ जिल्लाहरुमा अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व पनि आइसकेका छन् । २१ हिमाली जिल्लामध्ये ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, पूर्वी रुकुम, कालिकोट, मुगु, हुम्ला, बझाङ र बाजुरामा जिल्ला अधिवेशनबाट कांग्रेसमा नयाँ नेतृत्व आइसकेको छ ।

क्रियाशील सदस्यता र समायोजनमा विवाद भएपछि महाधिवेशन प्रक्रिया शुरु हुन नसकेका १३ जिल्लामा कांग्रेसले शनिबारबाट वडा अधिवेशन शुरु गर्दैछ । यी जिल्लामा कात्तिक ३० गते गाउँ–नगरपालिका अधिवेशन निर्धारण गरिएको छ ।

प्रदेश–२ का आठ, सुदूरपश्चिमको कैलाली, कर्णालीको सुर्खेत र डोल्पा, लुम्बिनीको बाँके तथा बागमतीको रसुवा जिल्लामा वडा अधिवेशन शुरु हुँदैछ । कांग्रेसले वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेका ५१ र वडा अधिवेशन शुरु नभएका १३ जिल्लाहरुमा एकसाथ प्रदेशसभा अधिवेशन गर्ने तयारी गरेको छ ।

१३ जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न भइसकेपछि आगामी मंसिर ३ गते ६४ जिल्लाहरुमा एकसाथ प्रदेशसभा अधिवेशन शुरु गरिने कांग्रेसको कार्यतालिका छ । कार्यतालिकाअनुसार मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुनेछ । मंसिर २४ देखि २६ सम्म कांग्रेसले काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७