सहायक सचिव र अतिरिक्त सचिव पद थप्ने तयारी


२८ कार्तिक २०७८, आईतवार
sanghiya संघीय स्थानिय विकास तथा सामान्य प्रशासन मन्ज्ञालय 1

काठमाडौं, २८ कात्तिक । सरकारले शाखा अधिकृत र उपसचिवको बीचमा सहायक सचिव तथा सहसचिव र सचिवको बीचमा अतिरिक्त सचिव या विशेष सचिव पद थप्न गृहकार्य अघि बढाएको छ । सरकारले अध्यादेशबाट ल्याउन लागेको संघीय निजामती सेवा ऐनमा यस्तो व्यवस्था गर्न लागेको हो । सरकारले अघिल्लो महिना संसद्बाट फिर्ता लिएको संघीय निजामती सेवा ऐनको प्रस्तावित विधेयक केही बुँदा संशोधनसहित अध्यादेशबाट जारी गर्ने तयारी गरेको छ ।

संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठले संसद्को हिउँदे अधिवेशनअघि नै संघीय निजामती सेवा ऐनलाई अध्यादेशबाट ल्याउने तयारी भएको बताए । त्यसका लागि आन्तरिक गृहकार्य भइरहेको उनको भनाइ छ । ‘संसद्बाट फिर्ता लिइएको संघीय निजामती सेवा ऐनसम्बन्धी विधेयकमा केही परिमार्जन हुन्छ’, उनले भने, ‘त्यसैका लागि संसद्बाट विधेयक फिर्ता लिइएको हो ।’

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार हाल शाखा अधिकृतबाट उपसचिवमा बढुवा हुन १०–१२ वर्षसम्म लाग्छ । १०–१२ वर्षसम्म एउटै पदमा रहँदा कर्मचारीको मनोबल उठ्न नसक्ने तथा अन्य प्राविधिक कठिनाइ उत्पन्न हुने भएकाले शाखा अधिकृतबाट ६–७ वर्षमै बढुवा हुनेगरी सहायक सचिव पद थप गर्ने तयारी भएको हो ।

सहायक सचिव पद थप भएमा शाखा अधिकृतमा नियुक्त कर्मचारी ५ देखि ७ वर्षमै बढुवा हुने विश्वास ती अधिकारीको छ । हालको व्यवस्थाअनुसार संघको सहसचिव प्रदेशमा गएमा सचिव हुन्छ, यसैगरी संघको उपसचिव प्रदेशमा गएमा सहसचिव हुन्छ ।

‘प्रदेशमा सचिव भई संघमा फर्किएको कर्मचारी फेरि सहसचिवमा झर्दा उसको मनोबल केही गिर्छ । त्यसकारण प्रदेशमा सहसचिव भएको व्यक्ति संघमा फर्कंदा एक तह बढुवा हुनेगरी उसलाई अतिरिक्त सचिव या विशेष सचिव पदमा बढुवा गर्ने सरकारको गृहकार्य हो’, मन्त्रालयका एक उपसचिवले भने । ती उपसचिवका अनुसार हाल सहसचिवबाट सचिवमा बढुवा हुन १४ वर्षसम्म लाग्छ । अतिरिक्त सचिव या विशेष सचिव पद थप गरेमा ७–८ वर्षमै बढुवा हुने सम्भावना रहन्छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७