कांग्रेस महाधिवेशन : आजदेखि प्रदेश सभा क्षेत्रीय अधिवेशन


३ मंसिर २०७८, शुक्रबार
Congress

काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेन अन्तर्गत आज (शुक्रबार) प्रदेश सभा क्षेत्रीय अधिवेशन हुँदैछ । अधिवेशनले प्रदेश सभा कार्यसमिति र प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन गर्नेछ । हालसम्म कांग्रेसले १४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ ।

महाधिवेशनअन्तर्गत वडा र पालिका अधिवेशन सम्पन्न भइसकेपछि कांग्रेसले प्रदेश सभा क्षेत्रीय अधिवेशन शुरु गर्न लागेको हो । कांग्रेसले देशैभरका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा शनिबारका लागि क्षेत्रीय अधिवेशनको कार्यतालिका निर्धारण गरेको छ । शनिबारका लागि प्रदेश सभा क्षेत्रीय अधिवेशन तालिका तय गरिएको भए पनि सोमबारसम्म अधिवेशन गरिसक्नुपर्ने हुन्छ ।

कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुनेछ । यस्तै मंसिर २४–२६ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।

कांग्रेसले शुक्रबार देशभरका प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन गर्ने कार्यतालिका बनाए पनि सर्लाही, सिन्धुपाल्चोक र रसुवामा अधिवेशन नहुने भएको छ । तीन वटै जिल्लामा वडा र गाउँपालिका तहमा विवाद कायमै रहेका कारण प्रदेश सभा क्षेत्रीय अधिवेशन नहुने भएको हो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले विवादित जिल्ला बाहेक अन्य ठाउँमा शुक्रबार प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने जनाएको छ ।

प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रदेश सभा क्षेत्रीय सम्मेलन गठन गर्ने प्रयोजनका लागि कांग्रेसले प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रलाई प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रदेश सभा क्षेत्रीय सम्मेलनको क्षेत्र मानेको छ ।

प्रदेश सभा क्षेत्रीय कार्य समिति कस्तो हुन्छ ?
प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव निर्वाचित हुने छन्। कार्यसमितिमा आएका १६ जना प्रतिनिधिमध्येबाट कोषाध्यक्ष मनोनयन गरिने व्यवस्था कांग्रेसले विधानमा गरेको छ ।

प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट विजयी सभापतिले कार्यसमितिको २० प्रतिशत अर्थात् चार जना सदस्य मनोनित गर्न पाउने छन् । यसरी जनसंख्याका आधारमा प्रदेश सभा निर्वाचन समिति २७ सदस्यीय वा त्योभन्दा केही तलमाथि हुनेछ ।

कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको तीन वर्ष पुगेको सदस्य प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापतिको उम्मेदवार बन्न सक्नेछ । अधिवेशनले कम्तीमा तीन महिलासहित १० जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ६ जना प्रदेश सभा क्षेत्रको जनसंख्याको बनोटअनुसार, तोकिएबमोजिम समानुपातिक आधारमा गरी जम्मा १६ जना प्रतिनिधि निर्वाचित गर्नेछ ।

मातहतका गाउँपालिका र नगरपालिकाका सभापतिहरु कांग्रेसको प्रदेश सभा क्षेत्रीय कार्यसमितिका पदेन सदस्य रहने छन् । मातहतका वडा कार्यसमितिका सभापतिलाई कार्यसमितिको बैठकमा आवश्यकताअनुसार आमन्त्रण गर्न सकिने व्यवस्था विधानमा छ । विधानमा प्रदेश सभा क्षेत्रीय कार्यसमितिको बैठक प्रत्येक महिनामा कम्तीमा एक पटक बस्ने उल्लेख छ ।

यी हुन् प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधिहरु
(क) प्रदेश सभा निर्वाचन क्षेत्रभित्रका गाउँ-नगर-उपमहानगर-महानगरपालिका वडा अधिवेशनबाट निर्वाचित प्रदेश सभा क्षेत्रीय प्रतिनिधि ।

(ख) प्रदेश सभा निर्वाचन क्षेत्रभित्रका गाउँ-नगर-उपमहानगर-महानगरपालिका कार्यसमितिका सभापति र वडा कार्यसमितिका सभापति ।

(ग) उक्त क्षेत्रभित्र रहेका पार्टी केन्द्रीय कार्यसमितिका वर्तमान एवं पूर्व पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, संघीय संसदका सदस्य र उम्मेदवार, प्रदेश सभाका सदस्य र उम्मेदवार ।
(घ) गाउँ-नगर-उपमहानगर-महानगर अधिवेशनबाट निर्वाचित अपांगता भएका प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधि ।

प्रदेश सभा क्षेत्रीय कार्यसमितिको काम, कर्तव्य र अधिकार
(क) प्रदेश सभा क्षेत्रीय अधिवेशन, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय सम्मेलन र माथिल्लो निकायको निर्णय र निर्देशन कार्यान्वयन गर्ने, गराउने ।

(ख) आफू मातहतका गाउँपालिका र नगरपालिका कार्यसमितिबाट स्वीकृत नेपाली कांग्रेसको क्रियाशील सदस्यताको प्राप्त विवरणको अभिलेख राखी माथिल्लो निकायमा विवरण पठाउने ।

(ग) विधानबमोजिमको योग्यता पुगेका नेपाली कांग्रेसको क्रियाशील सदस्यको सदस्यता नवीकरण गर्नका लागि मातहत निकायबाट प्राप्त सिफारिस रायसहित माथिल्लो निकायमा पठाउने ।

(घ) प्रदेश सभा निर्वाचन क्षेत्र अन्तर्गतका नगरपालिका, गाउँपालिका र मातहतका कार्यसमितिलाई परिचालन र समन्वय गरी आवश्यक निर्देशन दिने ।

(ङ) प्रदेश सभा निर्वाचन क्षेत्रभित्रका मतदाताको विवरण राख्ने, अद्यावधिक गर्ने, मतदाता नामावलीमा थपघट गर्नुपर्ने कार्य गर्ने गराउने ।

(च) निर्वाचनको समयमा निर्वाचन तथा मतदानसँग सम्बन्धित आवश्यक व्यवस्थापन गर्ने र निर्वाचनको समग्र मूल्यांकन र समीक्षा गरी माथिल्लो निकायमा प्रतिवेदन पठाउने ।

(छ) प्रदेश सभा निर्वाचन क्षेत्रभित्रका मतदातासँग निरन्तर सम्पर्क, संवाद र सहयोग गर्ने तथा विभिन्न अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने गराउने ।

(ज) आफ्नो क्षेत्रभित्रका विकास निर्माणका कार्यको अनुगमन, मूल्यांकन गर्ने र विकास निर्माणका कामलाई सम्पन्न गर्नका लागि पार्टीका तर्फबाट आवश्यक कार्य गर्ने, गराउने ।

(झ) आफू मातहतका नगरपालिका कार्यसमिति, गाउँपालिका कार्यसमिति र वडा कार्यसमिति, टोल कार्यसमितिलाई सक्रिय बनाउन आवश्यक निर्देशन र समन्वय गर्ने।

(ञ) कम्तिमा प्रत्येक दुई महिनामा प्रदेश सभा निर्वाचन क्षेत्रभित्रका नेपाली कांग्रेसका सदस्यको भेला र अन्तरक्रियात्मक कार्यक्रम गर्ने।

(ट) पार्टीबाट निर्वाचित जनप्रतिनिधिसँग समन्वय गर्ने र सो कार्यका लागि पार्टीको तर्फबाट प्रदेश सभामा निर्वाचित प्रदेश सभाका सदस्य र उम्मेदवार प्रदेश सभा क्षेत्रीय कार्यसमितिकाबीच प्रत्येक महिनामा कम्तिमा एक पटक बैठक बसी छलफल, परामर्श र आवश्यक निर्णय गर्ने।

(ठ) नागरिकका हितसँग सम्बन्धित कार्यक्रम समय–समयमा अभियानका रुपमा सञ्चालन गर्ने, गराउने।

(ड) सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत पार्टीका गतिविधिको व्यापक प्रचार–प्रसार गर्न आवश्यक कार्य गर्ने, गराउने।

(ढ) पार्टीद्वारा वर्षभर सञ्चालन हुने विविध कार्यक्रमको वार्षिक क्यालेन्डर बनाएर सोही अनुसार कार्य गर्ने, गराउने।

(ण) आवश्यकताअनुसार विभिन्न समिति, उपसमिति गठन गर्ने।

(त) धारा ३२ बमोजिम मातहत निकायबाट प्राप्त रायसहित पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस र निर्णय गर्ने (विधानको धारा ३२ मा उम्मेदवारीको सिफारिस, निर्णय र अनुमोदनसम्बन्धी व्यवस्था गरिएको छ)।

(थ) पार्टीको हितमा तोकिए बमोजिमका अन्य आवश्यक कार्य गर्ने, गराउने।

कांग्रेसले २१ हिमाली जिल्लामध्ये ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, पूर्वी रुकुम, कालिकोट, मुगु, हुम्ला, बझाङ, बाजुरा र म्याग्दीमा जिल्ला अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसकेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७