एमाले महाधिवेशन : आज बन्द सत्र, कस्तो बन्ला नयाँ नेतृत्व ?

अध्यक्ष ओलीसहित विदेशी पाहुनाले सम्बोधन गर्दै


११ मंसिर २०७८, शनिबार
KPOLi 1

चितवन, ११ मंसिर । नेकपा एमालेको दशौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज (शनिबार) बन्द सत्र शुरु हुँदैछ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उद्घाटन भएको दशौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहान १० बजे बन्दसत्र उद्घाटन हुने जानकारी दिएका छन् । ‘बिहान १० बजे बन्द सत्र शुरु हुनेछ । उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ,’ भट्टराईले केन्द्रीय समिति बैठकपछि भने ।
एमाले महाधिवेशनमा विदेशी प्रतिनिधिमा भारत, बंगलादेश, श्रीलंकालगायत देशबाट नेताहरु आएका छन् । बन्दसत्रमा आउने प्रतिनिधिलाई एमालेले आवास तथा भोजनको व्यवस्था गरेको छ । बन्द सत्रबाट नयाँ नेतृत्व चयन हुनेछ । महाधिवेशन आइतबारसम्म चल्नेछ ।

यता एमालेमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थप्ने निर्णय भएको छ । शुक्रबार अबेर राति सौराहस्थित होटल जंगल क्राउनमा बसेको अन्तिम केन्द्रीय समिति बैठकले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म पदहरु बढाएर सर्वसम्मत रुपमा एकताको महाधिवेशन बनाउने निर्णय गरेको हो । निर्णयअनुसार अब एमालेमा केन्द्रीय समिति ३०१ सदस्यीय हुनेछ ।

त्यसैगरी ९९ सदस्यीय पोलिटब्यूरो गठन हुनेछ । स्थायी कमिटी ४५ सदस्यीय नै यथावत रहनेछ । पदाधिकारीतर्फ १९ जना हुनेछ । जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, सात सचिव हुनेछन् । विधान महाधिवेशनबाट पारित विधान हेरफेर गरिएको भट्टराईले जानकारी दिए । विधान संशोधन प्रस्ताव बन्द सत्रमा प्रस्तुत गरिने उनले बताए ।

कार्यालय सचिव तामाङका अनुसार बैठकले अध्यक्षदेखि सबै पदाधिकारी र केन्द्रीय समिति पनि सर्वसम्मत चयन गर्ने निर्णय गरेको छ । निर्णय अनुमोदनका लागि आज हुने तर केन्द्रीय कमिटीले निर्णय गरे जस्तै नयाँ नेतृत्व सर्वसम्मत चयन हुन्छ कि हुँदैन भन्ने हेर्न बाँकी छ । किनभने अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा उपाध्यक्ष भीम रावलले फिर्ता लिएको कुरा सार्वजनिक भइसकेको छैन । बन्द सत्रमा पेस गरिने छ ।

एमालेमा अब

अध्यक्ष–१ जना

वरिष्ठ उपाध्यक्ष–१ जना

उपाध्यक्ष–६ जना

महासचिव–१ जना

उपमहासचिव–३ जना

सचिव–७ जना

केन्द्रीय कमिटी ३०१ सदस्यीय

अनुशासन, लेखा र निर्वाचन आयोग २५ सदस्यीय

हिजो शुक्रबार चितवनको सौराहास्थित नारायणी नदी किनारमा उद्घाटन सत्र सकेको एमालेले आज बन्द सत्र आयोजना गरी नयाँ नेतृत्व चयन गर्ने भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७