माओवादीले आज ७५३ वटै पालिकामा सम्मेलन गर्दै

अध्यक्ष प्रचण्डले ‘भर्चुअल’ सम्वोधन गर्ने


११ मंसिर २०७८, शनिबार
maoist meeting bvHlNKisJH

काठमाडौं, ११ मंसिर । नेकपा (माओवादी केन्द्र) ले आज (शनिबार) देशका ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दैछ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समिति समेत गरेर आज कुल ७७६ वटा पालिकास्तरीय सम्मेलन हुने माओवादी केन्द्रले जनाएको छ ।
पालिका सम्मेलनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल’ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । आज दिउँसो १ बजे अध्यक्ष प्रचण्डले सबै पालिका सम्मेलनलाई एकै पटक सम्बोधन गर्नेछन् ।

माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार शनिबारको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्नेछ । यही मंसिर २५ गते माओवादीले प्रदेश सम्मेलन गर्दैछ । आगामी पुस ११ देखि १३ गतेसम्म माओवादीको राष्ट्रिय सम्मेलन तय गरिएको छ ।

माओवादीले सबै पालिकाको सम्मेलनको आवश्यक तयारी भइसकेको जनाएको छ । पार्टी सङ्गठनलाई एउटा निश्चित विधि र पद्धतिअनुसार अगाडि वढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक निर्वाचनलाई पनि स्वीकार गरिएको छ । सोहीअनुसार यही मंसिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ ।

माओवादीले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रीत हुने गरी नीति र विधि तय गरेको निर्वाचन आयोगका प्रमुख श्रेष्ठले बताए । माओवादीले पार्टीले विधानको ब्यवस्थाअनुसार निर्वाचन आयोग गठन गरिसकेपछि निर्वाचन निर्देशिका, आचारसंहिता समेत तय गरेको छ । प्रदेशस्तरका सबै निर्वाचन समिति एक महिना अगाडि नै गठन भएका थिए ।

पालिका सम्मेलनका लागि निर्वाचन समितिमा रहेर काम गर्नेलाई केन्द्रीय तहबाटै प्रशिक्षण दिई सबै स्थानीय तहमा पठाइसकिएको छ । वडा सम्मेलनमा निर्वाचित भएका प्रतिनिधिले विधानमा भएको व्यवस्थाअनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुश्लिमको प्रतिनिधित्व सुनिश्चित हुनेगरी नेतृत्व चयन हुनेछ ।

वडाबाट निर्वाचित भएका प्रतिनिधिका आधारमा गाउँपालिकामा १५० जनाका दरले सहभागी हुनेछन् । यस्तै नगरमा २००, उपमहानगरमा ३०० सय र महानगरमा ४०० प्रतिनिधिको उपस्थितीमा अधिवेशन हुने प्रमुख श्रेष्ठले जानकारी दिए । सबै पालिका अधिवेशनलाई व्यवस्थित तरिकाले सम्पन्न गर्नका लागि माओवादीले विशेष परिपत्र गरिएको जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७