गगन थापाको कटाक्ष : कांग्रेसको अधिवेशन, एमालेको ओलीवेशन


११ मंसिर २०७८, शनिबार
gagan thapa 20211127072846

काठमाडौं, ११ मंसिर । कांग्रेस नेता गगनकुमार थापाले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले विश्राम लिनुपर्ने बताएका छन् । कांग्रेस काठमाडौंका सभापति पदका उम्मेदवार कृष्ण (सबुज) बानियाँ समूहको उम्मेदवारी घोषणासभामा उनले पार्टीमा नयाँ नेतृत्व चाहिएको बताएका हुन् ।

उनले भने, ‘पार्टीमा दुवै जना (शेरबहादुर देउवा र रामचन्द्र पौडेल) ले विश्राम लिनुपर्छ । पार्टीमा नयाँ नेतृत्व चाहिएको छ ।’थापाले एमालेको महाधिवेशनलाई कटाक्ष गर्दै चितवनमा ओलीवेशन भइरहेको बताएका छन् । ‘यो अधिवेशन हो, त्यो ओलीवेशन हो । त्यहाँ कोहि लडेको छ, कोहि ढलेको छ । कहिँ कुस्ती भएको छ । जहाँ मत हुन्छ त्यहाँ मतभेद हुन्छ ।’

उनले थपे, ‘नारायणी किनारमा अधिवेशन भइरहेको छ । कसले ओली बा’ को पाउमा तेल राम्रोसँग दल्न सक्दछ भन्ने प्रतिस्पर्धा भइरहेको छ ।’ उनले मत हुने पार्टीमा मतभेद हुनु सामान्य भएको भन्दै विवेकपूर्ण ढङ्गले नेतृत्व छान्न आग्रह गरेका छन् । बानियाँ समूहबाट उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा गोविन्द पुडासैनी र इन्द्रबहादुर थापा र सहसचिवमा रोमेल श्रेष्ठ र प्रा. डा. अमिता प्रधानले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७