गृहमन्त्री खाँणका भाइ रामकृष्ण बने रुपन्देही जिल्लाको कांग्रेस सभापति


११ मंसिर २०७८, शनिबार
ramkrishna khan SM9c1q0s6p

रुपन्देही, ११ मंसिर । नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण चयन भएका छन् । दुई कार्यकाल लगातार जिल्ला सचिव रहेका खाँण आगामी पाँच वर्षको लागि सर्वसम्मत रुपमा सभापति चयन भएका हुन् ।

रामकृष्ण गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन् । सभापतिसहित अरु पदाधिकारी र सदस्य पनि सर्वसम्मत गराउने जिल्लाका विभिन्न पक्षका नेताहरुबीच सहमति भएको थियो । जसअनुसार थानेश्वर घिमिरे र अनिता शाह जिल्ला उपसभापति बनेका छन् । घिमिरे संस्थापन इतर अर्थात पौडेल पक्षबाट उमेद्वार बन्ने तयारी गरेका थिए ।

सर्वसम्मत हुने भएपछि उपसभापति बस्न तयार भएका हुन् । अनिता शाह संघीय सांसद भरतकुमार शाहकी पत्नी हुन् । उनी पनि सक्रिय राजनीतिमा क्रियाशील छिन् । क्षेत्रीय अधिवेशन सकिएपछि जिल्ला सभापति अब्दुल रज्जाकले गृहमन्त्री बालकृष्ण खाँण, संघीय सांसद भरतकुमार शाह, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल लगायतका नेताबीच जिल्लाको नेतृत्व सर्वसम्मत गराउने सहमति गरेका थिए ।

जसअनुसार संस्थापन अर्थात देउवा पक्षले सभापति, एक सचिव र सहसचिव लिने सहमति भएको थियो । संस्थापन इतर अर्थात पौडेल पक्षले उपसभापति, एक सचिव र एक सहसचिव लिने र भरतकुमार शाह पक्षलाई उपसभापति दिने सहमति भएको थियो । तीन पक्षका नेताहरुबीच जिल्ला सदस्यहरुमा पनि भागवण्डा भएको छ । जिल्ला सचिव, सहसचिव लगायत कार्यसमितिहरुमा आवश्कता भन्दा बढी उमेदवारी परेकाले सर्वसम्मति प्रयास भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७