सर्वसम्मत बन्ने ओलीको चाहनामा धक्का : अध्यक्षमा रावलको उम्मेद्वारी दर्ता


१३ मंसिर २०७८, सोमबार
bhim oli

चितवन, १३ मंसिर । चितवनको सौराहामा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया शुरु भएको छ । अध्यक्षमा भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । हिजै फारम लगेका उनले निर्वाचन प्रक्रिया शुरु भए लगत्तै उम्मेदवारी दर्ता गराएका हुन् । अहिले बिहान साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । पछिल्लो कार्यतालिकाअनुसार बेलुकी ९ बजेपछि मात्रै मतदान शुरु हुनेछ ।

सहमतिका लागि अध्यक्ष केपी शर्मा ओलीले हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर रावललाई उपाध्यक्षमा बस्न आग्रह गरेका थिए । तर रावलले प्रस्ताव अस्वीकार गरेपछि चुनावी प्रक्रिया शुरु भएको हो ।

उपाध्यक्षमा बस्न ओलीले गरेको आग्रह अस्वीकार गरेका रावलले अध्यक्षमा उमेदवारी दिएका हुन् । उनको उमेदवारीसँगै अध्यक्षमा सर्वसम्मत हुने ओलीको चाहना पूरा नहुने पक्का भएको छ । यसअघि ओलीले रावललाई सम्झाउन नसकिएको बताएका थिए । ‘उपाध्यक्ष बस्नु भनें, अध्यक्षमा लड्ने भन्नु भो । सम्झाउन सकिएन । उपाध्यक्ष भएर काम गर्न आदेश दिएँ । मान्नु भएन ।’

जवाफमा रावलले आफू अब फर्कने अवस्थामा नरहेको बताएका थिए । आफू धेरै अघि बढिसकेकाले फर्किने अवस्था नरहेको उनले बताएका थिए । एमालेको शक्तिशाली अध्यक्ष ठानिएका ओलीलाई रावलले दिएको टक्करले सर्वसम्मत बन्ने चाहनामा धक्का पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७