एमाले महाधिवेशन : १,३०० प्रतिनिधिले हाले भाेट, १० बजेसम्ममा मतदान सकिने

आज साँझसम्म मत परिणाम आइसक्ने


१४ मंसिर २०७८, मंगलवार
chitwan voting

चितवन, १४ मंसिर । चितवनको सौराहामा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा हालसम्म १,३०० जना प्रतिनिधिले मतदान गरिसकेका छन् । बिहान ४ बजेबाट शुरु भएको मतदानमा साढे ८ बजेसम्म १,३०० जनाले मतदान गरेका हुन् । एक पटकमा ६९ जनाले मतदान गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । मतदानका लागि एक जनालाई १० देखि १५ मिनेटसम्म लाग्ने गरेको छ । केहीलाई भने २० मिनेटसम्म लागेको केन्द्रीय निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बाले जानकारी दिए ।

mat1638234363

अबको करिब तीन घण्टामा मतदान प्रक्रिया सकिने निर्वाचन आयोगले जनाएको छ । महाधिवेशमा २,१७५ मतदाता छन् । आयोगका अनुसार आज साँझसम्म अन्तिम मत परिणाम आइसक्ने छ । मतदान बिहान ४ बजेबाट सुरु भएको थियो । १० बजेसम्मका लागि मतदानको समय तोकिएको छ । यद्यपि मतदान नसकिए केही समय थप गरिने संयोजक डा. सुब्बाले जानकारी दिए । मतगणना शुरु गरेको करिब तीन घण्टामा अन्तिम मत परिणाम आइसक्ने उनको भनाइ छ ।

अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान हुनेछ । अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्ने छन् ।

अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् । ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्व माओवादी पृष्ठभूमिका हुन् । सोही पदमा ओलीको टिम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टङ्क कार्कीले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७