प्रधानन्यायाधीश जबरा ‘डिस्चार्ज’, सर्वोच्चमा सुनुवाइ शुरु


१७ मंसिर २०७८, शुक्रबार
sarbochha 1

काठमाडौं, १७ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा डिस्चार्ज भएका छन् । कोभिड–१९ बाट संक्रमित भइ मंसिर १३ गते बलम्बुस्थित सशस्त्र प्रहरी बल, नेपाल एपीएफ अस्पताल भर्ना भएका थिए ।

कोरोना उपचारका लागि अस्पताल भर्ना भएका जबरा स्वास्थ्य लाभ गरी फर्किएको अस्पतालले जनाएको छ । उनमा कोभिड–१९ निमोनियाको समस्या देखिएको थियो । प्रधानन्यायाधीश जबरा अस्पतालबाट निवास फर्किएसँगै सर्वाेच्च अदालतमा न्यायाधीशहरुले मुद्दा सुनुवाइ शुरु गरेका छन् । उनी अस्पतालबाट सिधै सरकारी निवास बालुवाटार गएका हुन् । प्रधानन्यायाधीश जबराले कसैलाई कायममुकायम जिम्मेवारी नदिए पनि शुक्रबार समयमै इजलास गठन र पेसी तोकिएको हो । यसअघि बिहीबार दिउँसो १ बजेपछि मात्रै पेसी तोकिएको थियो ।

नेपाल बार र सर्वाेच्च बारका अध्यक्षले प्रधानन्यायाधीश बिना इजलास नबस्न न्यायाधीशहरुलाई आग्रह गरेपछि बिहीबार सुनुवाइ पनि प्रभावित भएको हो । तर शुक्रबार प्रधानन्यायाधीश कायममुकायम नदिई निवास गएका हुन् । उनी निवास फर्किएसँगै सर्वाेच्चमा सुनुवाइ भइरहेको छ ।

१० नम्बर इजलासमा न्यायाधीश तेजबहादुर केसी र कुमार चुँडालले गंगा लामाले जयन्द्र लामाविरुद्ध जालसाजी र दर्ता फारीमा दायर गरेको रिटको सुनुवाइ भइरहेको छ । अन्य ११ वटा इजलास भने मध्याह्न १२ बजेपछि मात्रै बस्ने बुझिएको सर्वाेच्च प्रशासनले जनाएको छ ।
आन्दोलनरत कानुन व्यवसायीले १२ बजे धर्ना कार्यक्रम सकिने र त्यसपछि मात्रै इजलासमा बस्न न्यायाधीशहरुलाई आग्रह गरेका थिए । यसअघि बिहीबार कायममुकायम नतोकेको अवस्थामा कसरी अगाडि बढ्ने भनेर न्यायाधीशहरुले छलफल गरेका थिए ।

छलफलस्थलबाटै एक न्यायाधीशले प्रधानन्यायाधीशलाई फोन गरेर यस विषयमा सोधेपछि प्रधानन्यायाधीश जबराले आफूले कायममुकायम अधिकार नदिने र शुक्रबार अस्पतालबाट डिस्चार्ज भएर निवास फर्किने जवाफ दिएका थिए । प्रधानन्यायाधीश फर्किने भएपछि न्यायाधीशहरु शुक्रबार गोलाप्रथाबाट इजलास गठन र पेसी तोक्ने प्रक्रियामा सहभागी भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७