कांग्रेस इतर समूहले आज सभापतिको साझा उम्मेदवार टुङ्गो लगाउँदै

कांग्रेस सभापतिमा अझै आठ आकांक्षी


२२ मंसिर २०७८, बुधबार
congress leader 232021 12 07 10 28 21

काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेस संस्थापन इतर समूहले आज (बुधबार) आसन्न १४औं महाधिवेशनका लागि सभापति पदको साझा उम्मेदवार टुङ्गो लगाउने भएको छ । त्यसका लागि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापन इतरका शीर्ष नेताहरूको बैठक बस्दै छ ।

यसअघि मंगलबार नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा छलफल भएको थियो । उक्त छलफलपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलि (आज) बेलुकासम्म साझा उम्मेदवार तोक्ने बताएका थिए । ‘सहमतिको निकै नजिक पुगेका छौं । केही प्रक्रिया पूरा गरेर बाहिर आउँछ । सबै दृष्टिकोणबाट छलफल गर्‍यौं’, उनले भने, ‘महाधिवेशनमा पार्टी जोगाउन छलफल गर्छौ । केही प्रक्रिया पूरा गरेर भोलि (आज) टुंगो लगाउँछौं ।’

बैठकमा नेता पौडेलले आउँदो चुनावसम्म मात्रै पार्टी चलाउन दिन आग्रह गरेका थिए । त्यसपछि आफू कार्यवाहक दिन तयार भएको तथा अहिले नै सहमति गर्न पनि तयार रहेको बताएका थिए । ‘चुनावसम्म पार्टी चलाउन दिनुस् । त्यस बेलासम्म कांग्रेसप्रतिको धारणामा सुधार गरौँ । पार्टीमा भएको अन्याय अन्त्य गरौं । त्यसपछि पार्टी चलाउन तयार हुनुस् । आजै तयार हुनुस् । यो विषयमा अहिले नै सहमति गरौं’, पौडेलको प्रस्ताव थियो ।

पौडेलले सभापतिका आकांक्षीसँग छुट्टाछुट्टै छलफल पनि गरेका थिए । छलफलपछि सभापतिका आकांक्षी तथा महामन्त्री डा. शशांक कोइरालाले आफूले रामचन्द्र पौडेलका लागि आफ्नो दाबी छाडेको बताए । ‘रामचन्द्र पौडेलले एक पटकका लागि मलाई छाडिदिन भन्नुभयो । मैले छाड्न तयार भएँ’, कोइरालाले भने, ‘अरूका नाममा सहमति भयो भने पनि उहाँले छाड्न तयार हुनुपर्छ ।’

मंगलबारको बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, नेताहरू शेखर कोइराला, प्रकाशमान सिंहलगायत सहभागी थिए । संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा पुनः सभापतिमा उठ्ने तयारीमा छन् । उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उमेदवारी घोषणा गरिसकेका छन् ।कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४-२६ गतेसम्म काठमाडौंमा हुने तय छ ।

कांग्रेस सभापतिमा अझै आठ आकांक्षी
नेपाली काँग्रेसको १४औं महाधिवेशन पर्सी शुक्रबारबाट राजधानीमा सुरु हुँदैछ । काँग्रेसको यो महाधिवेशनमा नेतृत्व लिन वर्तमान सभापति शेरबहादुर देउवा, हालका उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला र अर्का नेता गोपालमान श्रेष्ठ अघि सरेका छन् ।

यस्तै, नेता कल्याण गुरुङको पनि सभापति पदमा नै दाबी रहँदै आएको छ । यीमध्ये महामन्त्री कोइरालाले भने आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई दिएका छन् । सभापतिको दौडमा संस्थापन समूहबाट देउवा, निधि र श्रेष्ठ छन् भने इतर समूहबाट अब पौडेल, पूर्व महामन्त्री सिंह र केन्द्रीय सदस्य समेत रहेका नेता कोइराला छन् । तेस्रो धारबाट सिटौला अघि बढेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७