हेलिकोप्टर दुर्घटनामा परेका भारतीय रक्षा प्रमुख रावतको अवस्था चिन्ताजनक, अस्पताल पुर्‍याइयो

११ जनाको शव बरामद


२२ मंसिर २०७८, बुधबार
thumb 3

नयाँदिल्ली, २२ मंसिर । हेलिकोप्टर दुर्घटनामा भारतीय चिफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावत गम्भीर घाइते भएका छन् । तामिलनाडुको कुन्नुरस्थित घना जंगलमा बुधबार भएको सेनाको हेलिकोप्टर दुर्घटनामा परि उनी गम्भीर घाइते भएका हुन् । उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

गम्भीर घाइते बनेका रावतलाई वेलिङटनस्थित सैनिक अस्पतालमा भर्ना गरिएको र उनको पछिल्लो अवस्थाबारे भने कुनै पनि आधिकारिक जानकारी उपलब्ध नभएको भारतीय मिडियाले लेखेका छन् । १४ जना भारतीय सेनाका वरिष्ठ अधिकारी सवार सेनाको हेलिकोप्टर तामिलनाडुस्थित कुन्नुरको घना जंगलमा दुर्घटनाग्रस्त भएको हो । सो हेलिकोप्टर दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने अन्य तीन जनाको उद्धार गरिएको बताइएको छ । मृतक ११ जनाको शव भेटिएको छ । अधिकांश शव जलेका छन् ।

रावत आफ्नी पत्नीका साथ वेलिंगटनमा आयोजित एक कार्यक्रममा सहभागी हुन हेलिकोप्टरमार्फत सवार हुँदै थिए । सो कार्यक्रममा रावतले वक्तव्य दिने कार्यसूची थियो । रावत भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्ष समेत हुन् । दुर्घटनाबारे भारतीय सेनाले कुनै आधिकारिक विज्ञप्ति निकालेको छैन । यसअघि रावत चढेको हेलिकोप्टर सन् २०१५ फेब्रुअरी ३ मा नागाल्याण्डस्थित दिमापुरमा दुर्घटनामा परेको थियो । सो समयमा भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको पदमा रहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७